हरित जलवायु कोषमा जोडियो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक


नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हरित जलवायु कोष (जीसीएफ) बाट मान्यता प्राप्त गर्ने नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक बनेको छ । यस मान्यताले एनआईएमबी लाई ५० मिलियन अमेरिकी डलरदेखि २५० मिलियन अमेरिकी डलरसम्मका परियोजनाहरू व्यवस्थापन गर्न सक्षम बनाउने बैंकले जनाएको छ ।

हरित जलवायु कोष ऐतिहासिक पेरिस सम्झौतासँग सम्बन्धित छ । यो विश्वको सबैभन्दा ठूलो समर्पित जलवायु कोष हो । यसले निम्न उत्सर्जन र जलवायु प्रतिरोधि मार्गतिर विकासोन्मुख देशहरूको लक्ष्यलाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेकाअनुसार यो मान्यता प्राप्त गर्नका लागि कडा प्रक्रिया पार गर्नु परेको थियो । अब एनआईएमबीले उर्जा उत्पादन, यातायात, जीविकोपार्जन, दिगो कृषि, स्वास्थ्य, खाद्य र पानी सुरक्षालगायतका क्षेत्रहरूमा जलवायु अनुकूलन र न्यूनीकरण परियोजनाहरूमा ध्यान केन्द्रित गर्ने जनाएको छ । यसले स्थानीय समुदाय, सरकारी निकाय, र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै जलवायु परिवर्तनको विरुद्ध नेपालका राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न प्रयास गर्नेछ ।

एनआईएमबी हाल नेपालभरि २७२ शाखा, ८१ शाखारहित बैंकिङ सेवा, २६६ एटीएम र ६५ एक्सटेन्सन काउन्टर मार्फत साढे ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

हरित जलवायु कोष २०१० मा १९४ राष्ट्रद्वारा स्थापना गरिएको थियो, जसले विकासोन्मुख देशहरूलाई जलवायु परिवर्तनको चुनौतीहरूको सामना गर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको छ ।

प्रकाशित मिति: २५ पुस २०८१, बिहीबार  २० : ३७ बजे