कर्जा असुलीको खबर र तालाबन्दी तथा तोडफोडको विषयमा कृषि विकास बैंकको ध्यानाकर्षण


काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले लहान शाखाका विषयमा सामाजिक सञ्जालमा आएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकको शाखा कार्यालय लहानका प्रबन्धक लगायतका कर्मचारीहरुलाई जोडेर विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा प्रकाशित कपोलकल्पित तथा भ्रमपूर्ण समाचार तथा अत्यावश्यक सेवाअन्तर्गत रहेको बैंकिङ सेवानै ठप्प हुनेगरी दैनिक कामकाज गर्न वाधा पुग्ने गरी बैंकमा तालावन्दी ढुङ्गा मुढा तथा होहल्ला गर्नाका साथै बैंकिङ सेवा वन्द गर्ने लगायतको कार्यप्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

यसरी सत्यतथ्य भन्दा बाहिर गई वास्तविकता भन्दा फरक ढंगले सम्प्रेषित समाचार तथा अराजक गतिविधिले यस बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम श्रृजना भएको तथा बैंकको सेवा प्रवाह अवरुद्ध भएको छ । यस खालका अमर्यादीत एवं अवाञ्छित व्यवहार गरी बैंक जस्तो संवेदनशिल स्थानमा हुलहुज्जत भएको घटनाको सम्बन्धमा सत्य तथ्य विवरण सरोकारवाला सबैको जानकारीको लागि सम्प्रेषण गर्न आवश्यक देखिएकोले यो प्रेष विज्ञप्ति जारी गरिएको बैंकले जनाएको छ ।

निज ऋणी लगायत आन्दोलन र धर्ना दिने व्यक्तिहरु कानूनी उपचार खोज्नु भन्दा पनि बैंकको बदनाम तथा विरोध गर्ने र अफवाह फैलाउने, बैंकको भौतिक सम्पत्तिको क्षति गराउने, बैंक कर्मचारीहरुको मनोवल गिराउने तथा समग्र बैंकिङ सेवा अवरुद्ध गराउने तर्फ उद्यत देखिएकोले यस्ता खालको गैर कानूनी अवाञ्छित गतिविधि प्रति घोर भर्त्सना गर्दै आपत्ति सहित बैंकले खेद प्रकट गरेको छ।

यसरी गरिएको लिलाम प्रक्रिया चित्त नबुझेको खण्डमा कर्जा ग्राहक नियमानुसार कानूनी प्रकृयामा जानसक्ने अवस्था हुँदा हुँदै बैंक जस्तो सम्वेदनशील संस्थाको सेवा नै अवरुद्ध हुने गरी बाधा व्यवधान सिर्जना गर्नु कदापी उचित नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार  ०९ : ४५ बजे