सेयर बजारमा लगानी बढेको सङ्केत, नेप्सेमा ७० अङ्कको सुधार हुँदा १३ अर्बको कारोबार 


 धितोपत्र बजारमा लगानी बढ्ने सङ्केत देखिएको छ । अर्थतन्त्रमा देखिएको समस्या राजनीतिक अस्थिरताले कमजोर भएको सेयर लगानीकर्ताको मनोबलमा सुधार भएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो । 

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक आइतबार २ महिना यताकै उच्च अंकमा पुगेको छ । विगत २ महिना देखि २७ सय अंक भन्दा तल झरेको नेप्से परिसूचक आइतबार करिब ७० अंकको सुधार संगै माथि गएको हो । यसअघि गत मंसिर २० गते नेप्से परिसूचक २७ सयको लाइनमा थियो । त्यसपछि २७ सय भन्दा तल आएको नेप्से आइतबार माथि गएको हो । दुई महिनाको अवधिमा नेप्सेका कारोबार भएका धेरै जसो दिनमा नेप्से सूचक घटेको छ । 

अर्थतन्त्रमा सुधार संकेत देखिएसँगै अर्थमन्त्री विष्णु पौडेल परिवर्तन नहुने पक्का भएपनि सेयर लगानीकर्तामा उत्साह देखिएको छ । साथै बैंकिङ क्षेत्रको ब्याजदर न्यून भएको र अधिक तरलता भएकाले पनि लगानीकर्ताले लगानी बढाउने देखिएको छ । 

पछिल्लो समयमा धेरै जसो कारोबार दिन घटेको नेप्से सुचक ६९.८ अंकले बढेर २७२७.५८ अंकमा पुगेको छ । नेप्से सूचक संगै कारोबार रकम पनि पछिल्लो ५ महिना यताकै उच्च पुगेको छ । आइतबार नेप्सेमा १३ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

आइतबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १३.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.९३ अंकसेन्सेटिभ फ्लोट इण्डेक्स ४.५८ अंक बढेको छ।
आइतबार नेप्सेमा ३३० स्टकको १ लाख ३० हजार ९१३ पटकको कारोबारमा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम गत साता नेप्सेमा कारोबार भएको अन्तिम दिन मङ्गलबारको तुलनामा करिब ३ अर्बले धेरै हो । गत मङ्गलबार ९ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएको थियो 

आइतबार उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ग्रामिण विकास लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, समता लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लागको छ । कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिन्धु विकास बैंकको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । ती मध्ये लघुवित्त समूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशत भन्दा बढी बढेको छ भने बैंकिङ्ग, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेको नेप्सेले जनाएको छ । 

प्रकाशित मिति: २० माघ २०८१, आइतबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।