कामना सेवा र क्वेस्ट इन्टरनेशनल कलेजबीच दक्ष जनशक्ति निर्माण सम्बन्धी समझदारी

0
Shares

कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेजबीच बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र क्वेस्ट कलेको तर्फबाट प्रिन्सिपल उदय राज पौडेल समझदारी पत्रमा हस्ताक्षर गरे।

२०६४ साल देखि आफ्नो वित्तीय कारोबार शुरु गरेको कामना सेवाले देशका विभिन्न स्थानमा १२४ वटा शाखा तथा केन्द्रीय कार्यालय मार्फत नौ सय बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । साथै, क्वेस्ट इन्टरनेशनल कलेज सन् २००९ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन तर्फ बिबिए, बिएचएम र एमबिएका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको एउटा प्रतिष्ठित संस्था हो ।

हाल यस कलेजमा सात सय बढी विद्यार्थी अध्यनरत छन् । कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने अवसर प्रदान गर्ने क्रममा क्वेस्ट कलेजले अध्यापन, अनुसन्धान तथा तालिम मार्फत उक्त लक्ष्यमा योगदान पुराउने र कामना सेवा बैंकले क्वेस्ट कलेजका विद्यार्थीलाई इन्टरशिपको व्यवस्था गर्ने यस समझदारी पत्रको प्रमुख उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले बताए । यो समझदारी मार्फत बैंकका कर्मचारीले क्वेस्ट कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुंदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको कलेजका प्रिन्सिपल उदय राज पौडेलले बताए ।

यो समझदारीलाई मानव संसाधन विकासमा शैक्षिक क्षेत्र र उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशः पुर्दै जाने अभियानको शुरुवाती कदमको रुपमा लिइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।