जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन गर्ने अन्तिम दिन, अहिलेसम्म रेकर्ड ब्रेक आवेदन

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ निष्काशन भएको तेस्रो दिनसम्ममा नै हालसम्मको धेरै संख्यामा आवेदन परेको छ।

सिडिएससीका अनुसार मंगलबार साँझ ५ः१५ बजेसम्ममा ६ लाख ८३ हजार २७६ वटा आवेदन परेको हो । यो संख्या हालसम्मकै उच्च हो ।

हालसम्म एउटा आईपीओमा अधिकतम ६ लाख १४ हजार वटासम्म मात्र आवेदन परेको थियो। यसअघि शेयर जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्समा सर्वाधिक आईपीओ आवेदन भएर रेकर्ड कायम भएकोमा सो रेकर्ड तेस्रो दिनमा नै ब्रेक भएको छ ।

जनरल इन्स्योरेन्सको आईपीओमा मंगलबार साँझ ५ः१५ बजेसम्ममा सर्वसाधारणबाट मागको ७.०३ गुणा धेरै कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणबाट २७ लाख ३० हजार कित्ताको लागि आवेदन आह्वान गरेकोमा १ करोड ९२ लाख ३ हजार ८५० कित्ताको माग अवेदन परेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले नोटबजारलाई जानकारी दिए ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० लाख कित्ता शेयर जारी गरेकोमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता शेयर छुट्टाएर बाँकी २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि असोज १४ गतेसम्म बुधबारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले ‘मेरो शेयर’ को साथै धितोपत्र बोर्डबाट आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिन्छ ।

जनरल इन्स्योरेन्सको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्रमाणपत्र प्राप्त गरेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।