नेप्से सिइओसँग ३ प्रश्न

‘नेपालमा दुइटा स्टक एक्सचेन्ज चाहिँदैन, नेप्सेलाई पुनर्संरचना गरे पुग्छ’


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

सार्वजनिक नीति तथा कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना लगायत विषय पनि अटाएका छन् । डेढ दशकदेखि नेप्से पुनर्संरचना गर्नुपर्ने बताउँदै आइए पनि यो पटकको नीति तथा कार्यक्रमले भने उक्त कुरा समेटेको हो ।

३ प्रश्नको आजको अंकमा हामीले सरकारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको विषयमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चूडामणि चापागाईँसँग कुरा गरेका छौँ ।

  • भर्खरै आएको नीति तथा कार्यक्रमले नेप्सेलाई कस्तो प्रभाव पार्छ ? कस्तो बजेटको अपेक्षा गर्नुभएको छ ?

नीति तथा कार्यक्रममा समेटिएका विषय नेपाल स्टक एक्सचेन्सका लागि सकारात्मक छन् । समय, चेतना, बजार, प्रविधि सबै परिवर्तन भएको छ । समय सापेक्ष नेप्सेको ‘सिस्टम अपडेट’ गर्न पुँजी जुटाउन पुनर्संचरना गर्नुपर्ने बताउँदै आइएकामा यो पटकको नीति तथा कार्यक्रमले उक्त कुरा समेटेको छ ।

हामीले चाहेको त्यही नै हो । हामीले पटक–पटक सरकारसँग राखेको माग पनि यही हो । यो धेरै अघिदेखिको माग थियो । जुन अहिले सम्बोधन भएको छ ।

अब छिटोभन्दा छिटो यसलाई कार्यान्वयन गर्न सोहीअनुसार बजेट पनि आवश्यक छ । नेप्सेको पुनरर्संरचना गर्ने विषय डेढ दशकयता सरकारी दस्तावेजमा उल्लेख हुँदै आएको कुरा हो । अब यसले मूर्त रूप पाउँछ भन्ने विश्वास छ ।

बजेटको ड्राफ्टमा छलफल हुन बाँकी छ नै । त्यसको विषयमा हामी फेरि छलफल गरेर अघि बढ्छौँ । नेप्से पुनर्संरचना गर्दा अहिलेका जो लगानीकर्ता हुनुहुन्छ, उहाँहरूको रेसियो कति–कतिमा उपयुक्त हुन्छ, छलफल गरेर अघि बढ्छौँ ।

त्यसमा रणनीतिक सहायता पनि जोड्न सक्दा उहाँहरूलाई कति प्रतिशतमा दिन सकिन्छ, बसेर छलफल गरेर अगाडि बढ्छौँ । बजेटमा पुनर्संरचना र रणनीतिक सहायताको कुरा समेटिनुपर्छ ।

नयाँ स्टक एक्सजेन्चको कुरा पनि आइरहेको छ । तर, मैले नयाँ स्टक एक्सचेन्ज चाहिँदैन भनेको छु । हाम्रो यही नेप्सेलाई पुनर्संरचना गर्दै रणनीतिक साझेदारीमा जान सक्यौँ भने अहिलेको बजारको साइज पनि ५० प्रतिशत बढ्छ ।

त्यसले लगानीकर्ताको दायरा ठुलो हुन्छ । नेपालमा जति कम्पनीहरू छन्, त्यसका लागि दुइटा स्टक एक्स्चेन्ज चाहिँदैैन ।

  • तपाईँ नियुक्त भएको १ महिना पूरा भइसकेको छ । यो १ महिनाको अवधिमा नेप्सेमा भएको प्रगति के हो ?

म अहिले आन्तरिक व्यवस्थापनमा लागिरहेको छु । मसिना–मसिना कुराहरूमा सुधार गरेर लगिरहेको छु । कर्मचारी, विभागसँग बसेर छुट्टै ३ वटा प्रोग्राम गरिसकेँ ।

मेरो फोकस भनेको आन्तरिक संस्थागत सुशासनमा छ । हामीले नेपाल सरकारसँग अनुरोध गर्ने कुरा त छँदै छ । त्यो त राष्ट्रिय योजना नै भइहाल्यो । तर, आन्तरिक कुराहरूलाई पनि समेटेएर लगिएको छ ।

कर्मचारी विनियवलीमा संशोधन गर्ने कुरा, विभिन्न निकायले समेट्नुपर्ने कुराहरू पनि सञ्चालक समितिबाट अनुमोदन गराएर अब अर्थ मन्त्रालयमा जाँदै छौँ ।

  • लगानीकर्ता सचेतनाका लागि के गरिरहनुभएको छ ?

हामीले सम्बन्धित विभाग र निकायसँग बसेर अब कसरी अघि बढ्ने भनेर छलफल पनि गरिरहेका छौँ । म सिइओका रूपमा आइसकेपछि लगानीकर्ताको सचेतना बढाउने विषयमा पनि छलफल भइरहेको छ । लगानीकर्ताले आफूले बुझेजस्तो गरे पनि थाहा हुनुपर्ने जति थाहा छैन ।

५ लाख रुपैयाँ कतै लगानी गरिँदै छ भने उसको ज्ञान ५० लाख रुपैयाँसम्मको हुनुपर्छ । अहिले ५ लाखको ज्ञानले ५० लाखको लगानी गर्ने लगानीकर्ताहरू छन् ।

आफूले लगानी गर्नुपर्ने जुन स्टक छ, जसमा हामी लगानी गर्छौं । त्यसमा लगानी कहिले गर्ने र कसरी निस्किने भन्नेबारे उहाँहरूलाई थाहा छैन । त्यसकारण बजारबाट घाटा बेहोर्नु पर्छ ।

अनि नेप्से अथवा क्यापिटल मार्केटप्रति नै उहाँहरू नकारात्मक बन्नुहुन्छ । यदि लगानीकर्ताले ५ लाखको लगानी गर्दा ५० लाख रुपैयाँ बराबर ध्यान दिनुभएको छ भने उहाँले राम्रै नाफा गर्नुहुन्छ । घाटा नै भए पनि नोमिनल घाटामा त्यो स्क्रिपबाट बाहिर निस्किन सक्नुहुन्छ ।

हाम्रोमा अहिले सरदरमा ४० लाख लगानीकर्ता हुनुहुन्छ । आगामी नीति तथा कार्यक्रममा हामी डिजिटल सचेतनामा ध्यान दिन्छौँ । अब नेप्सेले जे–जे काम गर्छ, जिटुजीमा गर्छ  हामी जिटुजीबाट डिजिटल रूपमा अगाडि जान खोजिरहेका छौँ ।

तपाईं जागिर खाइरहनुभएको छ भने तपाईंसँग भएको पैसालाई पनि काम लगाउन सक्नुपर्छ । तपाईंले पनि कमाउने, पैसाले पनि कमाउने भयो भने मात्र हामी सम्पन्न हुन्छौँ । पैसालाई जति काम लगायो, त्यति नै आम्दानी गर्न सकिन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।