इन्भेष्टमेण्ट बैंकले पारित गर्यो सिटी एक्सप्रेस फाइनान्स गाभ्ने प्रस्ताव, शेयर स्वाप कति ?


नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरेको छ । बुधबार दरबारमार्गस्थित बैंकको मुख्य कार्यालयमा सम्पन्न विशेष साधारण सभाले फाइनान्सलाई आफुमा विलय गर्ने प्रस्ताव पारित गरेको हो ।

कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सामाजिक दूरी कायम गर्नका लागि भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारण सभाले फाइनान्सलाई खरिद गर्ने प्रस्ताव पारित गरेको हो ।

विशेष साधारण सभाले सिटि एक्सप्रेस फाइनान्सलाई १० कित्ता बराबर बैंकको ३ कित्ता शेयर स्वापमा खरिद गर्ने प्रस्ताव पारित गरेको हो , अर्थात बैंकले फाइनान्सलाई प्रतिकित्ता ३० रुपैंयाको मूल्यमा दिँदै ७० रुपैंया जगेडा कोषमा सञ्चित गर्ने गरी खरिद गर्ने निर्णय गरेको हो ।

हाल सिटि एक्सप्रेस फाइनान्सको चुक्ता पूँजी ४० करोड रुपैंया छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख रुपैंया छ । फाइनान्सलाई गाभे पछि बैंकको चुक्ता पूँजी १४ अर्ब ३७ करोड रुपैंया पुग्नेछ भने संस्थापकको हिस्सा ६८.४८ प्रतिशत र सर्वसाधारको ३१.५२ प्रतिशत कायम हुनेछ ।

इन्भेष्टमेण्ट बैंकले हाल ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ्ग काउन्टरहरूबाट बैंकिङ सेवा दिँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाईसकेको बैंकले अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

उता सिटिएक्सप्रेस फाइनान्सले पनि बुधबार सम्पन्न विशेष साधारण सभाबाट इन्भेष्टमेण्ट बैंकमा विलय हुने प्रस्ताव पारित गराएको छ । अब दुवै संस्थाले विलय प्रकृयाको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने छन् । राष्ट्र बैंकबाट स्वीकृति पाए पछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि स्वीकृति लिएर एकीकृत कारोबार सुरु हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।