उत्तर अमेरिकी तथा एसियाली केही मुलुकमा कोभिड–१९ अत्यधिक संक्रामक


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ २० देखि ४० वर्ष उमेर समुहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ ।

यी उमेर समुहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो ।

रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड दिएको छ ।

यसैबीच, उत्तर अमेरिका र एसियाका केहि क्षेत्रमा कोरोना भाइरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । सो परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भएपनि कम घातक रहेको पनि पत्ता लागेको हो ।

सङ्क्रमक रोगको अन्तर्राष्ट्रिय समाजका अध्यक्ष पाउल टेम्वियाले केहि देशमा भाईरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको बताए ।

कोरोनाबाट हालसम्म विश्वभर २ करोड १७ लाख ७० हजार बढी संक्रमित भईसकेका छन् भने ७ लाख ७२ हजार बढीको मृत्यु भइसकेको छ ।