धितोपत्रको दोस्रो बजार हालसम्मकै ठूलो, बजार पूँजीकरण २२ खर्ब माथि पुग्यो

0
Shares

धितोपत्रको दोस्रो बजारको विस्तारसँगै आकारमा पनि उल्लेख्य सुधार आएको छ । बुधबारसम्ममा शेयर बजारको आकार २२ खर्ब १० अर्बको पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आएको सुधारसँगै बजार पूँजीकरण हालसम्मकै उच्च भएको हो ।

नेप्सेमा सूचीकृत शेयरको संख्यामा आएको वृद्धिसँगै बजार सूचक पनि बढ्दो क्रममा देखिएपछि बजारको आकार बढेको हो ।

नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।

२०७३ साउन १२ गते नेप्सेको कुल बजार पुँजीकरण हालसम्मकै उच्च २० खर्ब ७० अर्ब ९९ करोड ५९ लाख रुपैयाँ थियो । त्यो दिन नेप्से सूचक पनि १ हजार ८८१ अंकमा पुगेको थियो । त्यसपछि बजारमा शेयरको आपूर्ति उल्लेख्य बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको चुक्ता पूँजी ४ गुणा भन्दा धेरैले बढेको छ भने जलविद्युत तथा उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सहभागिता पनि बढेको छ । त्यसैगरी सूचीकृत कम्पनीको बोनस तथा हकप्रद शेयर पनि उत्तिकै थपिएको छ ।

बुधबार नेप्से परिसूचक ४१ अंकले बढेको छ भने बजार पूँजीकरण पनि हालसम्मकै उच्च २२ खर्ब १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसका कारण समग्र अर्थतन्त्र गतिशिल हुन नसकेको अवस्थामा शेयर बजारमा भने आकर्षक देखिन थालेको छ । पछिल्लो समयमा लगानीका अन्य क्षेत्र नभएको र बैंक वित्तीय संस्थाको ब्याजदर पनि घटेको हुनाले शेयर बजार लगानी थपिएको अनुमान छ । त्यसले बजार बजार सुधारमा महत्वपुर्ण भुमिका खेलेको छ ।

पछिल्ला दिनहरुमा नेप्सेको औसत दैनिक कारोबार रकम २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी करिब १ हजार १०० अंकको लाइनमा पुगेको नेप्से सूचक समेत बढेर १६४७ अंकममा पुगेको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा आएको सुधारले आगामी दिनमा बजार अझै बढ्ने संकेत गरेको देखिन्छ ।

बजार पूँजीकरण भने कम्पनीको शेयर र अघिल्लो दिनको अन्तिम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ । हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा पब्लिक नै धेरै हुन्छ । बुधबार फ्लोट मार्केट क्याप पनि ७ खर्ब ८१ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । २०७३ साउन १२ गते फ्लोट मार्केट क्याप ६ खर्ब ९१ अर्ब ४७ करोड रुपैयाँ थियो ।

बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।