लुम्बिनी विकास बैंकको खुद ब्याज आम्दानी घटेपनि १५ प्रतिशत बढ्यो नाफा

0
Shares

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको पसिहलो त्रैमासको तुलनामा ५ करोड ७४ लाख रुपैयाँले खुद ब्याज आम्दानी घटेपनि खुद नाफामा भने १ करोड ४९ लाख ५९ हजार रुपैयाँले खुद नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकको व्यवसायीक प्रगतिबाट प्राप्त हुने खुद आम्दानी घटेपनि खराब कर्जा नोक्सानी वापतको व्यवस्था रकम घट्दा नाफा बढेको हो । यसका अलवा बैंकको अन्य सञ्चालन आम्दानी बढेको छ भने खर्च नियन्त्रित देखिएको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । गत आवको यसै अवधिमा बैंकले ९ करोड ६७ लाख ६० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
असोज मसान्तसम्मको वितरणयोग्य नाफा २ करोड ११ लाख ५१ हजार रुपैयाँ छ ।

असोज मसान्तसम्ममा बैंकले २४ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १५ करोड ९६ लाख ५० हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । बैंकको खराब कर्जा नोक्सानी वापतको व्यवस्था वापतको रकम गत आवको यसै अवधिको तुलनामा २ करोड ८६ लाख रुपैयाँ कम २ करोड ४२ लाख मात्र व्यवस्था गरेको छ ।

चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा कायम भएको छ। बैंकको जगेडा कोषमा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ छ जुन गत आवको तुलनामा ९.५६ प्रतिशतले धेरै हो । यस्तै बैंकको शेयरधनी कोष गत आवको तुलनामा ११.१८ प्रतिशतले बढेर २१ करोड ३ लाख पुगेको छ ।

पहिलो त्रैमासमा बैंकले ३२ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ४५ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको बचत संकलन १५.६४ प्रतिशतले बढ्दा कर्जा लगानी ५ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६०.९८ रुपैयाँ, निष्क्रिय कर्जा अनुपात २.३६ प्रतिशत, आधार ब्याजदर ९.६५ प्रतिशत र स्प्रेड रेट ५.१४ प्रतिशत छ । यस्तै पूँजीकोष अनुपात १२.६८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७३.१३ प्रतिशत, र मूल्य आम्दानी अनुपात १३.१९ गुणा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।