वाणिज्य बैंकमा अघिक लगानीकर्ता झुम्मिदाँ कमाउनेमा साना तथा मझौला कम्पनीका शेयरधनी

0
Shares

नयाँ वर्षसँगै शेयर बजारमा बुलिस प्रवृति देखा पर्न थालेको छ । सोमबार ४.७० अंकले बढेको बजारमा मंगलबार २३.३३ अंकको उछाल आएको हो । उच्च अंकको सुधार आएको बजारमा वाणिज्य बैंकको कारोबारमा खरिद बिक्री चाप परेको छ भने साना तथा मझौला कम्पनीको शेयरधनीले मंगलबारको बजारमा नाफा आर्जन गरेका छन् ।

बजारमा शिर्ष दश कम्पनीमा आठ कम्पनी वाणिज्य बैंक रहेको छ। छिमेक र साना विकास विकास लघुवित्त पनि शिर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएको छ।

कूल ७४ करोड २७ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको मंगलबारको बजारमा एनएमबि बैंकको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ। बैंकको एक लाख ८५ हजार कित्ता शेयर ६ करोड ७० लाख ६० हजार रुपैयाँ बराबरमा शेयर खरिद बिक्री भएका छन् ।

यसैगरि एनआईसी एशिया बैंकको ४ करोड ९८ लाख २१ हजार र प्रभु ४ करोड ५८ लाख ७९ हजारको कारोबार भएको छ। बैशाख २७ गते आह्वान गरेको साधारण सभाका लागि सिभिल बैंकले बैशाख ९ गतेदेखि बुकक्लोन गर्ने भएपछि बैंकको सबैभन्दा धेरै २ लाख एक हजार ४४८ कित्ता शेयर कारोबार भएको हो। सिभिल बैंकको ३ करोड ३२ लाख बराबरको शेयर खरिद बिक्री भएको छ । बैंकले दुई आर्थिक वर्षको गरि १४.३० प्रतिशत लाभांश पारित गर्दैछ ।

यसैगरि नेपाल बैंकको ३ करोड २४ लाख ९० हजार, कुमारी बैंक २ करोड ७५ लाख ७४ हजार, एनसीसी बैंकको २ करोड ३० लाख ९१ हजार, साना किसान विकास बैंक २ करोड २४ लाख २० हजार, छिमेक लघुवित्त १ करोड ४८ लाख २० हजार र प्राइम कमर्सियल बैंकको एक करोड ४६ लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

मझौला कम्पनीको शेयरमूल्यमा उछाल

कारोबारमा वाणिज्य बैंकको दबदबा रहेपनि मंगलबारको बजारबाट साना तथा मझौला कम्पनीको शेयरधनीले नाफा आर्जन गरेका छन् । मंगलबार श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.६७ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्सको ६.५४ प्रतिशत, समुदायिक लघुवित्त ५.९६, डिप्रोक्स ५.५६, प्रभु बैंक ५.१८, सिद्धार्थ बैंकको शेयरमूल्य ५.०५ प्रतिशतले उकालो लागेको छ ।

यसैगरि ग्रामिण विकास लघुवित्तका शेयरधनीले ४.९१, युनाईटेड इन्स्योरेन्स ४.८६, जानकी फाइनास र सहयोगी विकास बैंक ४.७६ प्रतिशतसम्म नाफा कमाएका छन् ।

बुलिस बजारमा १८ कम्पनीका शेयरधनीले मात्रै गुमाएका छन् । जसमध्ये युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ३.२३ प्रतिशतले घटेर ९० रुपैयाँमा झरेको छ । एभरेष्ट इन्स्योरेन्स र समीट माइक्रोफाइनान्सको शेयरमूल्य पनि २ प्रतिशत बढीले ह्रास आएको छ ।

यसैगरि सिनर्जी पावर, हिमालयन डिष्टलरी, आरम्भ माइक्रोफाइनान्स, ओरियण्टल होटल, नबिल इक्वीटी फण्ड, रिडी र रैराङ्ग हाइड्रोपावरको शेयरधनी भने गुमाउने सूचीमा परेका छन् ।