११ महिनामा कुल आन्तरिक कर्जा ३.४ प्रतिशतले बढ्यो


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा कुल आन्तरिक कर्जा ३.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा यस्तो कर्जा ६.० प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२.५ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा यस्तो दाबी ७.६ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ६.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.२ प्रतिशतले बढेको छ ।

निक्षेप ८ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ७.० प्रतिशतले बढेको छ । जुन ५ खर्ब १७ अर्ब ६० करोड रुपैयाँले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५ खर्ब १४ अर्ब ५७ करोड अर्थात् ९.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.० प्रतिशतले बढेको छ ।

चालु आवको जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३६.२ प्रतिशत र ५०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत रहेको थियो ।

यस्तै जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । गत आवको सो अवधिमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह ८ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८ प्रतिशतले बढेको छ । ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यो कर्जा ५.१ प्रतिशत अर्थात् २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ ।

चालु आवको जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह ८.४ प्रतिशतले, विकास बैंकको ४.७ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ६.९ प्रतिशतले बढेको छ ।

यस्तै जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १४.५ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणका रूपमा रहेको छ भने ६५.० प्रतिशत कर्जाका लागि घरजग्गा धितो सुरक्षण रहेको छ ।

गत आवको जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.० प्रतिशत र ६८.५ प्रतिशत रहेको थियो । आव २०८१÷८२ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.५ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।