काठमाडौँ । सरकारले ब्याज अनुदानसहित सहुलियतमा उपलब्ध गराउँदै आएको ऋणबाट लाभ लिने ऋणीको संख्या क्रमशः घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा सहुलियत ऋण लिनेको संख्या गत वर्षको तुलनामा झन्डै ३२.८९ प्रतिशत घटेको छ ।
चालु आवमा विभिन्न शीर्षकमा ९८ हजार ५२८ जनाले सहुलियत ऋण लिएका छन् । उक्त ऋणीहरूले जम्मा ८ अर्ब ५० करोड ९६ लाख रुपैयाँ ऋण लिएका छन् । जबकि गत आवमा १२ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको १ लाख २० हजार २७४ जनाले ऋण लिएका थिए ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै आकर्षण कृषि कर्जामा देखिएको छ । चालु आवको ११ महिनामा कृषि कर्जामा ३७ हजार २४७ जनाले ६ अर्ब १५ करोड ६ लाख रुपैयाँ ऋण लिएका छन् । कृषि कर्जामा ऋण लिनेको संख्यामा पनि अघिल्लो वर्षको तुलनामा ९ हजार १०९ जना कमि आएको छ भने ऋण रकममा २ अर्ब ५३ करोड ९२ लाख रुपैयाँले कमि आएको छ ।
त्यस्तै, अर्को सहुलियत कर्जा महिला उद्यमी ऋणमा ५९ हजार ७५९ जनाले २ अर्ब २३ करोड ५८ लाख रुपैयाँ ऋण लिएका छन् । ऋण लिनेको संख्याका आधारमा हेर्ने हो भने महिला उद्यमशील कर्जामा ऋण लिनेको संख्या कृषि कर्जा भन्दा धेरै देखिएको छ । तर रकमका आधारमा कृषि कर्जा धेरै ऋण लगानी भएको छ ।
त्यस्तै, कपडा उद्योगका लागि ऋण लिने ऋणीहरु १०३ जनाले ८ करोड ९३ लाख ऋण लिएका छन् भने दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत ६३७ जनाले १ करोड ७७ लाख ऋण लिएका छन् ।
त्यस्तै, सरकारले युवा फर्कन आप्रवासी कामदारहरुको लागि परियोजना ऋणको व्यवस्था पनि गरेको छ । सो कर्जामा ५४९ जनाले १ करोड २४ लाख रुपैयाँ ऋण लिएको बैंकको तथ्यांकमा उल्लेख छ ।
उच्च प्राविधिक शिक्षा अध्ययनका लागि सर्टिफिकेट धितोमा उपलब्ध हुने भनिएको कर्जामा हालसम्म ६८ जनाले १२ लाख रुपैयाँ ऋण लिएका हुन् भने शिक्षित युवा स्वरोजगार ऋणमा ७३ जनाले ११ लाख रुपैयाँ ऋण लिएका छन् ।
त्यस्तै, भुकम्प पिडितका लागि आवास ऋण २७ जनाले १ लाख २० हजार रुपैयाँ कर्जा लिएका छन्, भने सबैभन्दा कम ऋण सीटिइभिटी स्वीकृत संस्थाद्धारा तालिमका लागि प्रदान गरिने कर्जामा २ जनाले ४३ हजार रुपैयाँ ऋण लिएका छन् ।












प्रतिक्रिया