गभर्नर पौडेलले ल्याए लचिलो मौद्रिक नीति : सेयर धितो कर्जाको सीमा बढाइयो, घरजग्गा किन्न ७० प्रतिशत ऋण


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताए । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंकदरलाई ६ प्रतिशत र नीतिगत दरलाई साढे ४ प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे ६ प्रतिशत र नीतिगत दर ५ प्रतिशत थियो ।

मौद्रिक नीतिमार्फत् निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड कायम गरिएको छ ।

पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा-मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्‍याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा २ हजार ५०० अमेरिकी डलरबाट बढाएर ३ हजार डलर बनाइएको छ ।

आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२ प्रतिशतले वृद्धि हुने लक्ष्य मौद्रिक नीतिले तय गरेको छ ।

साथै, केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाएको छ ।

अधिक तरलताले ब्याजदर घटाएको सहज परिस्थितिमा मौद्रिक नीतिको कार्यदिशा लचिलो अवलम्बन गरिएको गभर्नर पौडेलले बताए ।

सरकारले आगामी आवको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने मूल्यवृद्धि ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार  १३ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।