तरकारीखेतीबाटै टोलकै महिला आत्मनिर्भर


टीकापुर । टीकापुर नगरपालिका–३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका छन् । दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारीखेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन् ।

आज भोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन् । महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन् । यसबाट हुने आम्दानीले आफुहरु सन्तुष्ट भएको उनीहरुको भनाइ छ ।

समूहका सदस्य देशरानी चौधरी आफूहरु तरकारीखेतीबाट स्वरोजगार बन्नुका साथै आम्दानी लिन सफल भएका र यसले आर्थिक समस्या टार्न सहयोग मिलेको बताउछन् । उनीहरुले उत्पादन गरेको तरकारी टीकापुर, लम्की, अत्तरिया बजारदेखि अन्य छिमेकी बजारमा जाने गरेको छ । कतिपय तरकारी बिक्रेताहरू बारीमै तरकारी किन्न पुग्छन् । खेतमा काम समूहका महिलाले मिलेर गर्छन्, खनजोत लगायतका काम गर्न मजदुरी लगाउने गरेका देशरानीको भनाइ छ ।

“हामीलाई खेती गर्न सहजताका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पावर टिलर, हजारी, क्यारेटलगायत सामग्री उपलब्ध गराएको छ”, देशरानीले भनिन्, “उक्त सहयोगले तरकारी खेती गर्न सहयोग मिलेको उनीहरू बताउँछन् ।”

१ वर्षमा ३ बाली सागसब्जी लगाउने उनीहरूले १ याममा प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म आम्दानी लिने गरेका देशरानीले बताइन् ।

उनीहरुले धान, गहुँ खेती गर्नुभन्दा तरकारीबाट राम्रो भइरहेको बताउँछन् । समूहका अध्यक्ष मीना चौधरी समूहमा आबद्ध भएका महिलाहरूले तरकारीखेतीसँगै बाख्रापालन पनि गरिरहेको बताउछन् । “हामी हरेक महिलासँग ३ देखि ७ वटासम्म बाख्रा पनि छन्, तरकारी लगाउँदा घाँसको समस्या हुँदैन”, उनले भनिन्, “बाख्रापालनबाट आम्दानी ठीकै भएको छ ।”

यसअघि अधिकांश महिला घर खर्च चलाउन ज्यालादारी गर्थे । परम्परागत रुपमा आफूलाई खानका लागि खेती गर्ने यी महिलालाई सिँचाइ आयोजनाले प्रोत्साहन गरेपछि उनीहरू व्यावसायिक बनेका हुन् । “सन्तानको पढाइ खर्च, घर खर्चका लागि निकै समस्या हुन्थ्यो”, मीनाले भनिन्, “आयोजनाले तालिम, प्रविधि, बीउविजन सबै क्षेत्रमा सघाएपछि हामी साजसब्जीबाट राम्रो आम्दानी लिन सफल भएका छौँ ।”

महिलाहरूले साजसब्जी खेती, बाख्रापालन, समूह परिचालनसँगै सामाजिक काम पनि गर्दै आएका छन् । उनीहरू समूहमा हरेक महिनाको छलफलमा समुदायका समस्याबारे छलफल गर्छन् ।

महिलाहरूले हरेक महिना बैठक बस्ने, समूहमा बचत गर्ने, बचत गरेर उठेको रकम सदस्यहरूलाई कृषि क्षेत्रमै खर्च गर्ने गरेको आयोजनाका प्रमुख भरत कँडेल बताउछन् । “महिलाहरूले कृषि र पशुपालनमा राम्रो काम गरेका छन् । आयोजनाको सहयोगलाई सदुपयोग गरेका छन्”, उनले भने, “घरका लागि तरकारी, पोषण सुधारलगायत आम्दानी गरिरहनुभएकाले आयोजनाका लागि पनि खुसीको कुरा हो, यसरी उत्पादनशील कार्यमा लाग्नेलाई आयोजनाको निरन्तर सहयोग रहन्छ ।’’

सिँचाइ आयोजनाले यी किसान महिलालाई बीउमा ५० प्रतिशत, विषादी तथा शुक्ष्मपोषण तत्वमा ७५ प्रतिशत तथा प्रविधि सहयोग गरेको छ ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार  १४ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।