एटिएम प्रयोग गर्नेको संख्या घट्यो, डिजिटल कारोबार बढ्दै


काठमाडौँ । पछिल्लो १ वर्षको अवधिमा नेपालमा एटिएमबाट पैसा झिक्नेको संख्या घट्दै गएको छ । डिजिटल कारोबारको संख्या र रकम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको ११ (साउन–जेठ) महिनासम्म अघिल्लो आर्थिक वर्षका सो अवधिको तुलनामा एटिएमबाट पैसा झिक्नेको संख्या घटेको देखिएको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा बैंकको एटिएमबाट १ करोड ५ लाख ५४ हजार २९० पटक नगद झिक्ने काम भएको छ । अघिल्लो आर्थिक वर्षको २०८०/८१ को सो अवधिमा १ करोड १४ लाख ६७ हजार ९८४ पटक नगद झिक्ने काम भएको थियो ।

रकमका हिसाबले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष एटिएमबाट झिकिने रकम घटेको तथ्यांकले देखाएको छ । गत वर्षको ११ महिनामा ८ अर्ब ७५ करोड ७८ लाख रुपैयाँ एटिएमबाट झिकिएको थियो भने अघिल्लो आवमा ९ अर्ब १० करोड ९ लाख रुपैयाँ एटिएमबाट झिकिएको थियो ।

तर, पछिल्लो समय डिजिटल कारोबारको संख्या भने बढ्दै गएको तथ्यांकले जनाएको छ । गत आर्थिक वर्षको ११ महिनामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र क्यूआरमार्फत् कारोबार गर्नेहरु धेरै मात्रामा रहेका छन् ।

गत आर्थिक वर्षको ११ महिनामा इन्टरनेट बैंकिङबाट २ अर्ब ६ करोड ३९ लाख रुपैयाँ कारोबार भएको छ भने अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६३ करोड ११ लाख रुपैयाँ कारोबार भएको थियो ।

मोबाइल बैंकिङबाट गत आवको ११ महिनामा ४५ अर्ब २२ करोड ८७ लाख रुपैयाँ कारोबार भएको छ भने क्यूआर मार्फत् ९ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ कारोबार भएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार  ०७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।