मन्त्रिपरिषद्को निर्णय अनुसार पुर्वाधार विकास बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली बाहिरिए


पुर्वाधार विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पुर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका छन् ।

मन्त्रिपरिषद् बैठकले पुर्वाधार विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको पदमुक्त गर्ने निर्णय गरेको थियो ।

नोटबजार स्रोतका अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णय बमोजिम ज्ञवालीले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको स्थानमा अन्य व्यक्तिलाई भित्र्याउने योजना अनुसार मन्त्री परिषदले उनलाई बहिर्गमन गराउने निर्णय गरेको स्रोतले नोटबजारलाई बतायो । “पदीय जिम्मेवारी हेरफेर गर्ने विषयमा मन्त्रीपरिषदले गरेको निर्णय अनुसार ज्ञवालीले पदबाट राजिनामा दिनु भएको हो” स्रोतले नोटबजारसँगको कुराकानीमा भन्यो ।

ठुला पुर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित पुर्वाधार विकास बैंकमा ज्ञवाली चार वर्षे कार्यकालका लागि नियुक्त भएका थिए । कार्यकाल २ वर्ष बाँकी रहँदा नै ज्ञवालीलाई सरकारले जिम्मेवारी मुक्त गरेको छ ।
यस अघि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत रहँदै गर्दा पनि ज्ञवालीले २ वर्ष कार्यकाल बाँकी हुँदा जिम्मेवारीबाट बाहिरिएका थिए ।

ज्ञवालीले पदबाट दिएको राजिनामा स्वीकृत गर्दै बैंक संचालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।

२० अर्ब रुपैंया चुक्ता पूँजी रहेको पुर्वाधार विकास बैंकमा सरकारको १० प्रतिशत लगानी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।