सफल कुखुरापालक रेवन, अण्डा बिक्रीबाट मासिक ३ लाख बढी आम्दानी


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ का रेवन चौधरी व्यावसायिक कुखुरापालक उद्यमीका रूपमा परिचित छन् । लेयर्स जातका कुखुरापालनमा लागेका उनले महिनामै ३ लाख रुपैयाँ बढीका अण्डा बिक्री गर्छन् ।

कामदार, कुखुराको चारो, औषधि लगायतको खर्च कटाएर चौधरीले महिनामा १ लाख रुपैयाँ जतिको रकम आम्दानी गर्छन् । नगरपालिका क्षेत्रको चौधरी नै पहिलो व्यावसायिक रूपमा कुखुरापालक किसानका रूपमा छन् । ३ दशकदेखि उनले व्यावसायिक रूपमा कुखुरापालन गर्दै आएका छन् ।

उनको जीवनयात्रा कहालीलाग्दो सङ्घर्ष र कठिनाइको बाटो पार गर्दै यहाँसम्म आइपुगेको हो । कहिल्यै नचुहिने घर, अन्नपातले भरिएको भान्सा र व्यावसायिक कुखुरा फार्मले सजिएको वर्तमान जीवनलाई उनले दशकअघिको खरले छाएको झुपडीसँग जोडेर हेर्छन् ।

“त्यो झुपडीमा एउटा कोठा सुत्नका लागि प्रयोगमा ल्याउथ्यौं, अर्को कोठामा कुखुरापालन हुन्थ्यो”, उनी भन्छन्, “वर्षा लाग्दा पानी चुहेर सुत्ने ठाउँसमेत नहुने अवस्था हुन्थ्यो, छोरालाई वर्षाको पानीबाट जोगाउन सिरकभित्र लुकाउँथ्यौं, हामी दुवै बुढाबुढीको अधिकांश समय छानो टाल्दैमा बित्थ्यो ।”

चौधरीको पुख्र्यौली घर कृष्णपुर नगरपालिका–६, बालुवाफाँटा हो । अहिले पनि उनको त्यहाँ कमाइ खोने जग्गा छ । त्यो जग्गालाई उनले अधियामा खेती गर्नका लागि दिएका छन् । सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुग्नुअघि नै उनी परिवारसँगै नगरपालिकाको झलारी बजार बजारमा बस्नका लागि आइपुगेका हुन् । बस्ने ठेगानै नभएपछि चिनजानका स्थानीय घुम्मन चौधरीको जग्गामा सानो झुपडी बनाएर बसाइ सुरू भएको उनी स्मरण गर्छन् । त्यही झुपडीमै विसं २०५६ मा कुखुरापालन व्यवसायको सुरुवात भयो ।

देशमा सङ्कटकाल घोषणा भएको बेलाको एउटा सम्झना चौधरीका लागि अझै पनि गहिरो छ । कुखुरापालनका लागि खर ल्याउन बेलडाँडी पुगेका उनी ट्रयाक्टरमा खरसहित झलारी फर्किदै गर्दा सुरक्षाकर्मीले विद्रोही पक्षका लागि कार्य गर्न थालेको आशंकामा चालकलाई नियन्त्रणमा लिएका थिए । “केही दिन प्रहरी चौकीकै चक्कर काट्नु प¥यो, धेरै हारगुहारपछि मात्रै चालक छुटाउन सक्यौँ”, उनले भने । जस्तोसुकै समस्या आए कुखुरापालन भने उनले कहिल्यै छाडेनन् ।

चौधरीको उद्यमशील यात्राको पहिलो पाइलो ब्रोइलर कुखुराबाट सुरू भयो । ५०० कुखुराबाट सुरू गरेको व्यवसाय विस्तारै बढ्दै गयो । आम्दानी बढेसँगै उनले चल्ला थप्दै लगे । त्यतिबेला झलारी बजारमा व्यावसायिक रूपमा ब्रोइलर पालन गर्ने उनी मात्रै एक्लै थिए । यही आम्दानीबाट उनले ४ कठ्ठा जग्गा खरिद गरे र स्थायी फार्म निर्माण गरे ।

सात वर्षसम्म ब्रोइलर कुखुरापालन गरेपछि चौधरीले लेयर्स कुखुरापालन गर्न थाले । आज उनीसँग २ वटा फार्म छन् । त्यहाँ ३ हजारभन्दा बढी लेयर्स कुखुरापालन गरिएका छन् । कुखुरापालनका लागि चौधरीले ४० लाख रुपैयाँ बढी लगानी गरेका छन् ।

दैनिक ६ देखि ८ पेटी अण्डा उत्पादन हुन्छ, जसको मूल्य स्थानीय बजारमा प्रति पेटी ३ हजार ३०० रुपैयाँ पर्छ । महिनामा झण्डै ३ लाख रुपैयाँको अण्डा बिक्री हुन्छ भने २ लाख रुपैयाँ जति खर्च कटाएर पारिवारिक जीवन सहज रूपमा धानिएको छ । बिहान ५ बजेदेखि साँझ ढल्केसम्म परिवारका सबै सदस्य काममा खटिन्छन् ।

उनकी श्रीमती पृथीदेवी चौधरी भन्छीन् “आम्दानी यहीबाट छ, त्यही भएर गाह्रो भए पनि मेहनत गर्नैपर्छ ।” कुखुरापालनकै आम्दानीले चौधरीले छोरीलाई उच्च शिक्षासम्म पढाएर अहिले सरकारी सेवा प्रवेश गरेको उनी बताउछन् । उनले छोरालाई १० लाख रुपैयाँ खर्च गरेर वैदेशिक रोजगारीका लागि युरोपको सर्विया पठाएका छन् । उनले अर्को छोरालाई पढाइ पश्चात पढाइ विवाह गरेर आफूसँगै व्यवसायमा संलग्न गराएको छ ।

१० वर्षका लागि भाडामा जग्गा लिएर चौधरीले ३ वर्षअघिदेखि बङ्गुरपालन व्यवसाय सुरु गरेको छ । “पहिलो वर्ष ४५ वटा बङ्गुर पाल्दा राम्रो आम्दानी भयो”, उनले भने, “त्यसको एक वर्षअघि महामारी फैलिएर धमाधम अन्य किसानका बङ्गुर मर्ने क्रम सुरु भएपछि ३१ वटा बङ्गुर बिक्री गरिदिए ।” हाल फार्ममा ११ वटा मात्र बाँकी छन् । गतवर्ष मात्रै उनले २ लाख २५ हजार रुपैयाँका पाठापाठी बिक्री गरेका थिए ।

चौधरी केवल व्यवसायी मात्रै नभएर समाजसेवीका रूपमा चिनिन्छन् । उनले वेस नामक संस्थाको अध्यक्ष भएर २ दशकभन्दा बढी समय समाजसेवामा सक्रिय भूमिका खेल्नुभएको छ । आज उनले व्यवसायमै आत्मनिर्भर बनेर सन्तानलाई उज्ज्वल भविष्य दिन सकेका छन् । खरझुपडीमा बिताएका दिन उनको जीवनको एउटा अध्याय भए पनि आजको दृढता र लगनशीलताको जग त्यहीबाट राखिएको कुरा उनी निर्धक्कसँग बताउछन् । रासस

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार  १३ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।