ह्वात्तै बढ्यो बैंकिङ ठगी कसुर

0
Shares

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीको कार्यकक्षमा एक युवक फाइल बोकेर दर्ता चलानी गर्न पुगे। “चेक बाउन्स भो सर,” बोगटीले सोध्नुभयो, “कति रकमको ?” “रु आठ लाखको सर,” युवाले जवाफ फर्काए । बोगटीले हस्ताक्षर गरेर मुद्दा फाँटमा पठाउनुभयो ।

यस्तै एक पेट्रोलपम्पका कर्मचारी त्यसैगरी फाइल बोकेर आए । उनको पनि एक पम्पसञ्चालकले रु पाँच लाख लगेर खातामा पैसा नभएको चेक दिएका थिए । सोही समयमा अर्का व्यक्ति पनि रु दुई लाख ठगेको भन्दै प्रहरी परिसरमा जाहेरी दिन आइपुगे ।

आज दिउँसो पाँच मिनेटको अन्तरालमा परिसरमा भएका तीन मुद्दाका जाहेरीले समेत बैंकिङ कसुरको अवस्था चित्रण गर्छ । परिसरका प्रवक्ता होवीन्द्र बोगटीका अनुसार रु पाँच करोडभन्दा बढी रकम यसैगरी ठगेका घटना छन् । काठमाडौँको बूढानीलकण्ठका जग्गा व्यापारीले कारोवारको सिलसिलामा यसरी पैसा लगेको र पछि चेक बाउन्स भएको भन्दै उजुरी परेको छ ।

“रु पाँच करोड ५० लाखको ठगीमा जाहेरी परेको छ, पाँच दिनदेखि हामी अनुसन्धानमै छौँ, अहिले यस्ता बैंकिङ् ठगीका मुद्दा ह्वात्तै बढेका छन्” बोगटीले भन्नुभयो । उक्त मुद्दाका आरोपी अहिले प्रहरीको हिरासतमा छन् । परिसरमा अहिले अन्यभन्दा अधिक मुद्दा बैंकिङ ठगीका छन् ।

बोगटीले भन्नुुभयो, “व्यक्तिलाई चेक दिन असाध्यै सहज हुन्छ, चेक दिएको भान हुन्न, जतिको पनि चेक काट्न तयार हुन्छन्, पैसा तिर्ने बेलामा समस्या पर्छ, पहिले जस्तो छैन, अहिले कानून कडा छ ।” कानूनबारे थाहा नहुँदा यस्ता घटना बढिरहेका छन् । चेक बाउन्सको मुद्दा पहिले देवानी अदालतमा जान्थ्यो । अहिले सिधै फौजदारी अपराधअन्तर्गत मुद्दा चल्छ । साठी दिन हिरासतमै राखेर अनुसन्धान गर्न सक्ने अधिकार प्रहरीलाई प्राप्त भएको छ । चेकमा गम्भीर बनिएन भने जो सुकै पनि थुनामा पर्छ । बिगोसहित जरिवाना र क्षतिपूर्तिसम्मको कानूनी व्यवस्था रहेको परिसरका निमित्त प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकरी दिनुभयो । उहाँका अनुसार दोषीलाई तीन वर्षसम्म कैदसमेत हुनसक्छ ।

महानगरिय प्रहरी परिसरका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ठगी मुद्दामा २१५ उजुरी पर्दा बैंकिङ कसुरका मुद्दा ६ वटा थिए । आर्थिक वर्ष २०७३/७४ मा ठगीका १४० र बैंकिङ कसुरका १० उजुरी परेका थिए । आव २०७४÷७५ मा ह्वात्तै बढेर बैंकिङ कसुरका मुद्दा ४२१ पुगे । अन्य ठगीका मुद्दा २१७ मात्रै रहेको तथ्याङ्क छ ।

चालू आवकोे अहिलेसम्म बैंकिङ कसुरका मुद्दा मात्रै एक हजार नाघिसकेको छ । अन्य ठगीका मुद्दा भने १६१ मात्रै दर्ता भएको परिसरले जनाएको छ । प्रहरीका अनुसार विद्युतीय अपराध र बैंकिङ कसुरका मुद्दा बढ्दो क्रममा छन् । हाउजिङ र वैदेशिक रोजगारसम्बन्धी मुद्दा पनि बढेका छन् । यस्ता घटनामा शुरुमा प्रगाढ सम्बन्ध गाँसेर पैसा लिने गरिएको र पछि आपसमा धोका, गलत र झुक्याएर अपराध हुने गरेको प्रहरीको निष्कर्ष छ ।