वैदेशिक रोजगार विभागलाई ३ प्रश्न

‘अदक्ष कामदारका लागि काम पाउने र भाषिक सहजताका कारण युएई नेपाली युवाको रोजाइमा परेको छ’


नेपालीहरू बर्सेनि लाखौँको संख्यामा रोजगारीको सिलसिलामा बिदेसिन्छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी नेपाली युवाहरू रोजगारीको खोजीमा संयुक्त अरब इमिरेट्स गएका छन् ।

गत आर्थिक वर्ष ८ लाखभन्दा बढी युवा कामका लागि बिदेसिँदा करिब ३३ प्रतिशत युवा युएई गएका छन् । युएई नेपालीहरूका लागि प्रमुख श्रम गन्तव्य बन्दै गएको छ ।

  • ३ प्रश्नको आजको अंकमा हामीले वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकाराम ढकालसँग यिनै विषयमा कुरा गरेका छौँ ।

वैदेशिक रोजगारीका लागि युएई मुख्य गन्तव्य हुनुको कारण के होला ?

बढ्दो सुविधा र विभिन्न कारणले नेपाली श्रमिकहरूका लागि युएई पहिलो रोजाइ बनेको छ । युएई एक समृद्ध संस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक हो । त्यसैले सबैभन्दा धेरै नेपाली युएई जाने गरेका हुन् ।

नेपालीले चाहेअनुसारको काम युएईमा पाइनु र त्यहाँका कम्पनीहरू श्रमिकका लागि उचित हुनुले पनि युएई रोजाइको केन्द्र बन्न पुगेको छ । युएईमा नेपालीहरूले पनि धेरै मात्रामा कम्पनीहरू सञ्चालनमा ल्याएका कारण काम पाउन र गर्न सजिलो हुन्छ । यसका साथै भाषिक सहजता पनि हुने भएकाले पनि नेपाली श्रमिकहरू युएईतर्फ आकर्षित भएका हुन् ।

विशेष गरी नेपालीहरू कस्तो कामका लागि युएई जाने गर्छन् ? त्यहाँको भाषिक पक्षले कस्तो प्रभाव पार्छ ?

हालको समयमा कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार, निर्माण क्षेत्रका कामदार, सुरक्षा गार्ड, ड्राइभिङका रूपमा जाने नेपाली धेरै छन् । प्रायः अदक्ष नेपाली कामदारहरू जाने गरेको पाइएको छ । पछिल्लो समय दक्ष जनशक्ति पनि जाने गरेका छन् ।

युएईमा धेरैजसो हाम्रो छिमेकी मुलुक भारतको भाषा बढी प्रयोग हुने गर्छ । यसरी हिन्दी भाषा लागू हुँदा नेपालीहरूलाई भाषामा सहज नै हुने गरेको छ ।

सरकारले सीप सिकेर विदेश जान आह्वान गरे पनि अधिकांश युवा सीपबिनै विदेश पुगेका छन्, यसमा विभागले के गर्दै आएको छ ?

सीप सिकाएर विदेश पठाउने व्यवस्था छ । सीप सिकेर जाँदा कामदारको सेवा सुविधा पनि राम्रो हुने र कामदारको कार्यस्थलमा सुरक्षा पनि हुन्छ । हाल सीप नसिकी विदेश जाने गर्दा धेरै कामदार विदेशमा पीडित बनेका छन् । लाखौँ खर्च गरेर गएपछि तुरुन्तै फर्किनुपर्ने बाध्यता पनि उत्तिकै छ ।

सीप नहुँदा तलब सुविधा पनि राम्रो नपाएको गुनासो सुनिन्छ । यस्तो हुँदा आफूले जाने मुलुकको बारेमा, आफूले गर्ने काम, पारिश्रमिक, जाँदा लाग्ने लागतलगायत विषयमा एकिन नभई नजान विभागले बारम्बार भनिरहेको नै छ । विदेश जाँदा श्रम स्वीकृति लिएर वैधानिक प्रक्रियाबाट मात्र जान विभागले आग्रह गरिरहेको छ ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार  १२ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।