गाडी किन्न वाणिज्य बैंकहरूले घटाए ब्याजदर, सबैभन्दा सस्तो कृषि विकासमा


काठमाडौं ।
भृकुटीमण्डपमा मंगलबारदेखि जारी नाडा अटो शो २०२५ मा बैंकहरूले सस्तो ब्याजदरमा गाडी किन्न कर्जा दिने गरी योजना सार्वजनिक गरेका छन् । शोलाई लक्षित गरेर वाणिज्य बैंकहरूबीच अटो कर्जाको ब्याजदर सस्तो बनाउन प्रतिस्पर्धा नै चलेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले गाडी कर्जा (अटो लोन) को ब्याजदरमा समेत प्रतिस्पर्धा गर्न थालेका हुन् । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको ६ खर्ब ५० अर्बभन्दा बढी अधिक तरलता छ ।

यसरी अधिक तरलताको अवस्था हुँदा बैंकहरूले अटो कर्जा सस्तो बनाएका हुन ।

बैंकले बैंक तथा वित्तीय संस्थालाई सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारीसाधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था छ । यो व्यवस्था सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधनमा समेत लागु हुने व्यवस्था गरेको छ । बैंकहरूले कर्जा सीमा सवारीसाधनको मूल्यको ६० प्रतिशत तोकिएको छ ।

यद्यपी बैंकहरूले अटो शोमा ब्याजदर र सेवा शुल्क घटाएर ग्राहक आकर्षित गर्न खोजेका छन् । एकातिर अधिक तरलताको अवस्थाका कारण बैंकहरू ब्याजदर घटाएरै भएपनि ऋण लगानी गर्नुपर्ने दवावमा छन् । सोही अवस्थामा अफरसहित आएपछि गाडी किन्न आकर्षण बढ्ने गाडी व्यवसायीहरूको विश्वास छ । सवारी साधनको बिक्री बढेमा अटो क्षेत्रमा उल्लेख्य कर्जा प्रवाह हुन सक्ने यसले देखाएको छ ।

२० मध्ये ७ वाणिज्य बैंकले स्थिर र परिवर्तनीय दुवै ब्याजदरमा आकर्षक अफर सार्वजनिक गरेका छन् । अटो कर्जाको ब्याजदर दर न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म रहेको छ ।

शोमा अटो कर्जामा सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले दिएको छ । कृषि कर्जामा ब्याजदर नघटाएर अटो कर्जामा ब्याजदर घटाएको भन्दै ग्राहकहरूले यस बैंकको आलोचना समेत गरेका छन् । कृषि विकास बैंकले ६.२३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ । बैंकको आधारदर ५.८७ प्रतिशतमा ०.३६ प्रतिशत प्रिमियम थपेर यो ब्याजदर तय गरेको हो ।

कर्जाको ०.७५ प्रतिशत प्रोसेसिङ शुल्कमा ३३ प्रतिशत छुट दिइएको समेत बैंकले जनाएको छ ।

नबिल बैंकले ७ वर्षसम्मका लागि ६.७४ प्रतिशत ब्याजदरमा परिवर्तनीय अटो कर्जा दिने घोषणा गरेको छ । स्थिर ब्याजदर रोज्ने ग्राहकका लागि भने ८.२५ प्रतिशत ब्याजदर कायम गरिएको छ । यसमा स्थिर कर्जामा ०.२५ प्रतिशत र परिवर्तनीय कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज बैंकले ७ वर्ष अवधिका लागि स्थिर ७.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने योजना ल्याएको छ
ग्लोबल आइएमई बैंकले अटो कर्जाका लागि दुई खाले ब्याजदर ल्याएको छ । बैंकका अनुसार अटो कर्जामा परिवर्तनीय प्रकृतिमा ६.९९ प्रतिशत ब्याजदर लागू हुनेछ भने ५ वर्ष अवधिको स्थिर कर्जामा ८.२५ प्रतिशत ब्याजदर तोकिएको छ ।

एनएमबि बैंकले नाडा अटो शो अवधिभर विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि ७.१३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ ।

हिमालयन बैंकले ८ वर्ष अवधिका लागि ७. ५७ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ । बैंकले आधार दरमा ०.८७ प्रतिशत प्रिमियम तोकर अटो कर्जा दिनेछ ।

यस्तै सानिमा बैंकले ५ वर्ष अवधिको लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा र ७ वर्ष अवधिको लागि ८.१५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिनेछ । यसमा ०.५० प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार  ०९ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।