काठमाडौँ । बैंकहरूले धमाधम ब्याजदर घटाएर सेयर बजारमा लगानी बढाउने नीति लिएका छन् । जसले लगानीकर्ताहरूलाई सस्तोमा सेयर कर्जा उपलब्ध हुने भएको छ । अधिकांश बैंकले सेयर कर्जाका लागि दिँदै आएको न्युनतम ब्याजदर ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म छ । अधिकतम ब्याजदर पनि धेरै छैन, ९ प्रतिशत हाराहारीमात्रै रहेको छ ।
बैंकिङ प्रणालीमा तरलता अधिक हुँदा बैंकहरूले ब्याजदर सस्तो गरेर ऋण विस्तार गर्न प्रतिष्पर्धा गर्न थालेका छन् । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७६ प्रतिशतमा झरेपछि बैंकहरू सस्तो ब्याजदरमा ऋण दिन प्रतिस्पर्धामा उत्रिएका छन् । जसले गर्दा सेयर बजारमा लाभ मिलेको जानकारहरू बताउँछन् ।
बैंकहरूले औपचारिक स्किम सार्वजनिक नगरे पनि स्थिर ब्याजदरमै सेयर कर्जा दिन आक्रामक प्रस्ताव अघि सारिरहेका छन् । लगानीकर्ताहरू पनि पछिल्लो समय कर्जा लिनका लागि ब्याजदरले सहज बनाइरहेको बताउँछन् ।
पछिल्लो समय सेयर धितो कर्जाको माग बैंकमा बढ्दो क्रममा छ । गत वर्ष ११ महिनामै सेयर धितो कर्जा ३५ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ । यस्तो कर्जा वृद्धि अझै बढ्दै जाने र यसले बजारलाई बढ्न सहयोग पुग्ने जानकारहरू बताउँछन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमा ल्याएको छ। व्यक्तिगत कर्जा सीमा २५ करोड रुपैयाँसम्म पुर्याइएको छ भने संस्थागत लगानीकर्ताका लागि कुनै सीमा तोकिएको छैन। यसले थप लगानी प्रवाहलाई प्रोत्साहन गरेको देखिन्छ। जसकारण सेयर बजारतर्फ लगानी बढाउन बैंकहरूलाई सहयोग मिलेको हो ।
बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम धेरै हुँदा सेयर बजारका लगानीकर्तालाई सहज भएको छ । बैंकबाट सस्तो ब्याजदरमा सेयर धितो कर्जा लिएर सेयर बजारमा लगानी गर्नेहरूको संख्या बढ्दै गएको छ ।
पछिल्लो समय बैंकहरूको आधार दर घट्दै गएको छ । यसले गर्दा ब्याजदर घट्न सहज भइरहेको छ । त्यसको असर कर्जाको ब्याजदरमा परिरहेको हो । ब्याजदर न्यून भएका कारण नै कर्जा लिएर सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताहरू बढ्दै गएका छन् ।
बैंकहरूको न्यूनतम र अधिकतम दुवै ब्याजदर एकल अंकमा हुँदा लगानीकर्तालाई सहज भएको लगानीकर्ताहरू बताउँछन् ।
कृषि विकास बैंकले न्यूनतम ५.८४ प्रतिशतदेखि अधिकतम ८.३४ प्रतिशतसम्म ब्याजदरमा मार्जिन लेण्डिङ कर्जा दिँदै आएको छ । एभरेष्ट बैंकले ६.२७ प्रतिशतदेखि ८.२७ प्रतिशतसम्ममा सेयर कर्जा दिइरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ६.३ देखि ६.८ प्रतिशतसम्म, सिद्धार्थ बैंकले ६.३४ देखि ९.५९ प्रतिशतसम्म, सिटिजन्स बैंकले ६.३५ देखि ९.३५ प्रतिशतसम्म ब्याजदरमा सेयर कर्जा दिँदै आएको छ ।
यस्तै ग्लोबल आइएमई बैंकले न्युनतम ६.७८ देखि अधिकतम ८.७८ प्रतिशतसम्म ब्याजदरमा सेयर कर्जा दिइरहेको छ । प्राइम बैंकले ६.६२ देखि ११.६२ प्रतिशतसम्म सेयर कर्जा दिँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.७८ प्रतिशतदेखि ८.७८ प्रतिशतसम्म सेयर कर्जा उपलब्ध गराउँदै आएको छ ।













प्रतिक्रिया