अब लघुवित्तले निष्क्रिय कर्जाको आधारमा २५ प्रतिशतसम्म लाभांश दिन पाउने


काठमाडौं । लघुवित्त वित्तीय संस्थाले निष्क्रिय कर्जाको आधारमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । बैंकले यसअघि १५ प्रतिशतको सीमालाई बढाएर २५ पुर्याएको हो ।

राष्ट बैंकले निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तले २५ प्रतिशत, ५ देखि १० प्रतिशतमा २० प्रतिशत र १० देखि १५ प्रतिशतमा १५ प्रतिशत लाभांश दिन सक्ने व्यवस्था गरेको हो ।

निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा बढी भएकाले भने लाभांश वितरण गर्न पाउने छैनन् । पूँजीकोष अनुपात न्यूनतम ९ प्रतिशत कायम गरेकाले मात्रै नगद लाभांशको प्रस्ताव गर्न पाउने छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै नियामक राष्ट्र बैंकले लघुवित्तलाई लाभांश वितरण सम्बन्धी नयाँ व्यवस्था गरेको हो ।

यता, बैंकले तोकिएको चुक्ता पूँजी पुर्‍याउन नसकेका कम्पनीले कर प्रयोजनबाहेक नगद लाभांश दिन नपाउने तर बोनस सेयर दिन पाउने व्यवस्था गरेको छ ।

यसअघि लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्नुपरेको खण्डमा प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा र त्यसपछिको १५ प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।

यस्तै, राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई लघुवित्तमार्फत ऋण उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाअनुसार पुरुषको हकमा तीन लाख र महिलाको हकमा पाँच लाख रुपैयाँ लघुवित्तमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यसका लागि आन्तरिक विनियमावली लघुवित्त संस्थाहरूले बनाउन सक्नेछन् ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार  ०८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।