मौरीपालन व्यवसायबाट वार्षिक १२ लाख आम्दानी गर्दै ६० वर्षीय दीपकुमार


दाङ । उमेरले ६० वर्ष पुगेका दीपकुमार मगरको मुख्य पेसा मौरीपालन हो । विगत २ दशकभन्दा बढीदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । त्यसबाट आम्दानी पनि राम्रो हुँदै गएको उनी बताउछन् । जिल्लाको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुर निवासी मगर विगत २५ वर्षदेखि यही व्यवसायमै छन् ।

मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको मगरले बताए । “मैले व्यावसायिक रुपमा मौरीपालन गर्न थालेको २५ वर्ष भयो”, उनले भने, “लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहको छ, यसमा घर परिवारको पनि सहयोग रहेको छ ।”

उनले मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत पनि व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरि छिमेकी जिल्ला रोल्पा, सल्यान, प्यूठानलगायत जिल्लामा आधुनिक प्रकारका सामग्री पठाउने गर्छन् । मौरीपालन गर्दै आएका किसान मगर आजभोलि पनि पूर्वाधार सामग्री उत्पादनमै व्यस्त छन् । विभिन्न ठाउँबाट माग आइरहेकाले पनि उत्पादन गर्दै आएको उनी बताउछन् ।

मगरको मौरी फार्ममा २०० घार क्षमताको भए पनि हाल भने १०० मौरीसहितका घार छन् । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए । “परिवारको सहयोग छ, आफैँ सुरुवातमा रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमै आएर पनि लैजान्छन्”, किसान मगरले भने, “मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।”

अहिले उनको फार्ममा युरोपिय, इटालिएन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् । परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । मौरीपालन व्यवसायबाट उनी वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

दुई÷तीन वर्ष वैदेशिक रोजगार रहँदासमेत मगरले विदेशमा पनि मौरीपालन गरेको देख्दा आफूले पनि यहाँ यही व्यवसाय थालेको बताए । उनी २०५७ सालदेखि सुरु गर्दा जिल्लामा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सङ्ख्या जम्मा १७ जना रहेको स्मरण गर्छन् ।

वर्षाको समय र अत्यधिक चिसो हुने समयमा ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए । मौरीपालन व्यवसाय व्यावसायिक रुपमा सुरु गरेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको अनुभव छ ।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार  १४ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।