काठमाडौँ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन अवधि पुनः थप गरेको छ। कम्पनीको १०० प्रतिशत हकप्रद शेयरमा अब असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।
यस अघि कम्पनीले भदौ ३१ गतेसम्म म्याद थप गरेको थियो। हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै अन्तिम पटकलाई असोज ५ गतेसम्म अवधि थप गरेको कम्पनीले जनाएको छ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गरेका छ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको ललितपुर, सिटिजन्स बैंक इन्टरनेशनलको कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।












प्रतिक्रिया