काठमाडौँ । सरकारले म्यानपावर कम्पनीमार्फत दक्षिण कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयन नगर्ने निर्णय गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार यो प्रक्रिया रोकिएको हो ।
म्यानपावर कम्पनीमार्फत दक्षिण कोरिया कामदार पठाउँदा इपिएस मार्फत कोरिया जानेलाई असर पर्ने दाबीसमेत गरेका थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हुनाले अख्तियारले कार्यविधि कार्यान्वयन नगर्न निर्देशन दिएको बताइएको छ ।
अख्तियारको निर्देशनपछि मंगलबार वैदेशिक रोजगार विभागले सूचना सार्वजनिक गर्दै यो कार्यविधिलाई कार्यान्वयन नगर्ने जनाएको हो ।
‘वि टु वि (निजी क्षेत्र) माध्यमबाट ई–७ भिसामार्फत गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधिलाई कार्यान्वयन नगर्ने भनी निर्देशन प्राप्त भएको हुँदा सम्बन्धित सम्पूर्ण सरोकारवालामा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अब ई–७ भिसामा जाने नागरिकलाई जिटुजीमार्फत नै पठाउने श्रम मन्त्रालयको तयारी छ । यसको लागि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिसकेको जनाएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार व्यक्तिगत रूपमा ई–७ भिसामा सीपयुक्त जनशक्तिको रूपमा नेपालबाट ‘सेफ/कुक’को काममा नेपाली गइरहेका छन् । यो क्षेत्रमा जाने नेपालीको न्यूनतम तलब १७ लाख हजार वन (करिब १ लाख ४८ हजार रुपैयाँ) तोकिएको छ । पछिल्लो १० वर्षमा यो भिसामा २२ सय २७ जना गइसकेका छन् ।
कोरियाले ई–९ र ई–७ गरी दुई वटा भिसा प्रणालीबाट विदेशबाट कामदार लैजाने गरेको छ । ई–९ भिसा सामान्य कामदारका लागि र ई–७ भिसा प्रणाली दक्ष कामदारका लागि दिइने गरेको छ ।
नेपालसँग श्रम सम्झौता सरकारी संयन्त्रमार्फत २३ जुलाई २००७ देखि कोरियाले ईपीएस (ई–९)मार्फत साना तथा मझौला कम्पनीले अदक्ष श्रमिक लैजाँदै आएको छ । ईपीएसअन्तर्गत कोरियाले उत्पादन र कृषि क्षेत्रबाट पानी जहाज निर्माण, वन, सेवा र रुट ईन्डस्ट्रिज क्षेत्रमा श्रमिक लैजाने गरेको छ ।
हालसम्म ईपिएसमार्फत एक लाख २५ हजार जना श्रमिक कोरिया पुगिसकेका छन् ।
नेपाली कामदार युएई पनि जान नपाउने
युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिसा दिन रोक लगाएको छ । यूएईले नेपालमा गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलन लगत्तै नेपालीलाई भिसा दिन रोक लगाएको हो ।
यद्यपी, युएईले भिसामा रोक लगाएको औपचारिक जानकारी भने दिएको छैन । आन्दोलनका क्रममा कैदी, थुनुवा भागेकोले देशको सुरक्षाको लागि भिसामा रोक लगाइएको बताइएको छ ।
यसअघि युएईले बंगलादेशलाई पनि भिसा दिन रोक लगाएको थियो । २०२४ जुलाईमा त्यहाका विद्यार्थीहरूले सरकारविरुद्ध गरेको आन्दोलन हिंसात्मक बनेपछि युएईले बंगलादेशी नागरिकलाई भिसा दिन रोक लगाएको बताइएको छ ।
युएईले कुनै जानकारी नै नदिकनै भिसामा रोक लगाउँदा त्यहा जानको लागि तयार गरिरहेका नेपाली समस्यामा पर्ने भएका छन् ।
युएईको लागि हरेक महिना नेपालबाट २०–२५ हजार नेपाली रोजगारीका लागि यूएई जाने गरेका छन् ।
वैदेशिक रोजगारका अनुसार गत साउनमा मात्र २३ हजार ८३८ जनाले यूएईको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । युएईमा हाल ७ लाख भन्दा बढी नेपाली युवा कामदार रहेको बुझिएको छ ।
यूएईले करिब १० देशलाई प्रतिबन्ध लगाएको छ । युएईले प्रतिबद्ध लगाएका देशहरुमा बंगलादेशसहित अफगानिस्तान, लिबिया, यमन, सोमालिया, लेबनान, क्यामरुन, सुडान र नाइजेरिया रहेका छन् ।
के भन्छन् विज्ञ ?
नेपालीको रोजाइको मुलुकहरुमा यसरी एकाएक सूचना नै नदिई प्रतिबन्ध लाग्दा नेपालीहरुले समस्यामा पर्ने गरेको समाजशास्त्री डाक्टर गणेश गुरुङ बताउँछन् ।
सरकारले प्रतिबन्ध लगाउँदा कुनै जानकारी बिना नै प्रतिबन्ध लगाउने गरेको बताउँदै उनले भने,‘पूर्व सूचना दिएर प्रतिवन्ध लगाइनु पर्छ । एक्कासी प्रतिबद्ध लगाउँदा त्यही देशको लागि ५–५ महिनादेखि तयारी गरिरहेकालाई ठूलो असर पर्छ’।
विशेषगरी सरकारको हतारको निर्णयले विद्यार्थीहरु समस्यामा पर्ने उनको भनाइ छ । वर्षौँदेखि भाषा पढेर तयारी गरिरहेकालाई असर गर्ने भन्दै उनले भने, ‘सरकार आफ्नो कुरामा अडिक रहन सक्दैन, कहिले अनुमती दिने कहिले नदिने गर्दा विद्यार्थीको भविष्य पनि अन्योल जस्तै हुन्छ ।’
वैदेशिक रोजगारीबाहेक ठूलो संख्यामा त्यहाँ नेपालीहरू आफ्नै व्यवसायमा पनि संलग्न भएको उनी बताउँछन् । उनले भने,‘अध्ययन तथा घुमघामका लागि पनि यूएई र कोरिया नेपालीको रोजाइको मुलुक बन्दै गएको बेला एकाएक सूचना जारी गरी प्रतिबन्ध लगाइदा त्यहाँ जान खोजिरहेका नेपाली समस्यामा परेका छन्।’
सरकारले इपीएस (ई–९)लाई असर पुग्छ भनेर ई–७ भिसा रद्ध गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । उनले सरकारको गलत बुझाइने भिसा रद्ध भएको बताउँदै भने, ‘ई–९ र ई–७ भिसा फरक हो । ई–७ भिसामा नेपाल मात्रै होइन अन्य देशहरुबाट पनि अनुमती दिइन्छ । यो बन्द गर्नु पर्ने थिएन ।’
यता, युएईले भने आन्दोलनका कारण कैदिबन्दी भागे लगतै भिजिट भिसा बन्द गरेको उनले बताए ।
अहिले भने युएइ जाने कामदारको पनि भिसा आवेदन दिन नमिलेको उनको भनाइ छ । ‘देशको भयावह अवस्थाले गर्दा युएईले भिसा बन्द गर्यो,’ उनले भने,‘ अरु देशले पनि हामलिाई नजिकबाट नियालिएका छन् । अब अरु देशले पनि रोक लगाउन सक्ने सम्भावना बढेको छ ।’












प्रतिक्रिया