नेप्से कर्मचारीले अध्यक्ष र प्रमुख कार्यकारीलाई किन कार्यकक्षमै थुने ? बुधबारदेखि अनिश्चितकालीन बिरोध


काठमाडौं । विगत वर्षको बक्यौता बोनस, अध्यक्षको नियुक्तीमा स्वार्थ बाझिएको लगायत विषय उत्कर्षमा पुग्दा नेपाल स्टक एक्स्चेञ्जका कर्मचारीहरुले नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा धर्ना दिएका छन् । जसका कारण मंगलबार साँझसम्म नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईको कार्यकक्षमा कर्मचारीहरुले धर्ना दिए ।

कर्मचारीले नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको भूमिकामा प्रश्न उठाउँदै उनीहरुको राजिनामा पनि मागेका छन् । मंगलबार दिउँसोदेखि नै नेप्सेका अध्यक्ष बस्याल, प्रमुख कार्यकारी अधिकृत चापागाई र नेप्से कर्मचारी संघका पदाधिकारी सहित कर्मचारीहरु बक्यौता बोनसको विषयमा छलफलमा थिए ।

कर्मचारीहरु श्रम कार्यालयबाट निर्णय भएअनुसारको बक्यौता बोनस पाउनुपर्ने अडानमा बसेका थिए भने नेप्से अध्यक्ष र व्यवस्थापन प्रमुखले कर्मचारीले माग गरे अनुसार बोनस दिन नसकिने अडानमा बसे ।

छलफलमा दुई पक्ष आआफ्नै अडानमा बसेपछि कर्मचारीहरुले साँझसम्म अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईलाई कार्यकक्षबाट बाहिर निस्किन दिएनन् । रातको समयसम्म अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाई कार्यकक्षबाट बाहिरिन नपाएपछि नेपाल प्रहरीसँग सहयोग मागेर प्रहरीको सहयोगमा नेप्सेबाट बाहिरिएका थिए ।

विगत वर्षमा बोनस विबतरणका सम्बन्धमा उत्पन्न विवाद श्रम कार्यलयमा पुगेको थियो । श्रम कार्यालयले कर्मचारी संघले भनेअनुसार बोनस वितरण गर्न नेप्सेलाई बाटो खोलिदिएको थियो । उक्त बोनस वितरणका सम्बन्धमा नेप्से व्यवस्थापन र सञ्चालक समितिले बितरण नगर्ने निर्णय दोहोर्याएपछि उत्पन्न विवादका कारण मंगलबार अघोषित रुपमा नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत कार्यकक्षमा थुनामा परेका थिए ।

नेप्सेका कर्मचारीहरुले अध्यक्ष बस्यालको नियुक्तीमा स्वार्थ बाझिएको भन्दै यस अघि नै बिरोध जनाउँदै आएका थिए । मंगलबारको घटनाक्रम पछि नेप्से कर्मचारी संघले अनिश्चितकालीन संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईको राजिनामा मागेको छ ।

असोज ८ गतेदेखि सुरु भएको अनिश्चितकालीन संघर्षका कार्यक्रम अनुसार प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने, सबै कर्मचारीले हातमा कालो पट्टी बाँध्ने, धर्नामा बस्ने लगायतका कार्यक्रम रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष नबराज थापा र सचिव पुजन ज्ञवालीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा बस्यालको नियुक्तीमा स्वार्थ बाझिएको, राजनितिक आडमा नेप्सेबाट स्वार्थ लिन अध्यक्ष बनेको लगायतका विषय समेटिएको छ । उता नेप्सेका प्रमुख कार्यकारी अधिकृतले पनि नियुक्तीको ६ महिनासम्म नतिजाउन्मुख काम नगरेको, बिचौलियाको पछि लागेको लगायतका आरोप सहित कर्मचारी संघले राजिनामा माग गरेको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  १७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।