बैंकहरुको गैरबैंकिङ सम्पत्ती ६१.७३ प्रतिशतले बढ्यो, सबैभन्दा धेरै कस्को ?


काठमाडौँ । चालु आर्थिक वर्षको भदौसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ५० अर्ब ७५ करोड रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति (एनबीए) जम्मा भएको छ । यो गैर बैंकिङ सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.७३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति ३१ अर्ब ३८ करोड रुपैयाँ बराबर थियो ।

चालु आर्थिक वर्षको भदौसम्ममा वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ति ४२ अर्ब ९१ करोड रुपैयाँ बराबरको छ । त्यसैगरी विकास बैकहरूको गैर बैंकिङ सम्पत्ति ४ अर्ब ७७ करोड र फाइनान्स कम्पनीहरूको ३ अर्ब ६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवको भदौसम्ममा वाणिज्य बैंकको गैर बैंकिङ सम्पत्ति ३१ अर्ब ३८ करोड रुपैयाँ बराबरको रहेको थियो । त्यसैगरी विकास बैंकको ३ अर्ब ५९ करोड र फाइनान्स कम्पनीको २ अर्ब ३ करोड रुपैयाँ बराबरको थियो ।

यस अवधिमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंक रहेको छ । यसको गैरबैंकिङ सम्पत्ति ६ अर्ब ८ करोड रुपैयाँ छ । यद्दपि, सबैभन्दा धेरै कर्जा प्रवाह र निक्षेप संकलन गर्ने बैंक पनि यहि हो । त्यस्तै, हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ८४ करोड रुपैयाँ छ ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति बढ्नेमा नेपाल एसबिआई बैंक रहेको छ । यसको गैरबैंकिङ सम्पत्ति १६७.७६ प्रतिशतले बढेर ९४ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्दै आएका छन् । यसरी सकारेको सम्पत्ति नै गैरबैंकिङ सम्पत्ति हो । गैरबैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरुले यसको जोखिमबाट बच्न शतप्रतिशत रकम गैरबैंकिङ सम्पत्ति प्रावधानमा राख्नुपर्ने हुन्छ । सोही कारण बैंकहरुको गैरबैंकिङ सम्पत्ति रकम बढेको हो ।

पछिल्लो समय अर्थतन्त्रमा आएको शिथिलताले बैंकहरुले गैरबैंकिङ सम्पत्ति बिक्री गर्न नसकेका कारण यस्तो सम्पत्ति बढेको हो । पछिल्लो समय बैंकहरुले गैरबैंकिङ सम्पत्ति बिक्रीका लागि पटक–पटक सूचना जारी गरेता पनि बिक्री गर्न सकिरहेका छैनन् । घर–जग्गा कारोबारसमेत सुस्ताएकाले यस्ता धितो बिक्री हुन नसकेका हुन् । यही कारण बैंकहरुमा यस्तो सम्पत्ति उल्लेख्य दरमा बढिरहेको हो ।

चालु आर्थिक वर्षको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत खराब कर्जा ४.६२ प्रतिशत रहेको छ । यो खराब कर्जा प्रतिशत गत आर्थिक वर्षको सोही अवधिको भन्दा धेरै हो । गत आर्थिक वर्षको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत खराब कर्जा ४.३७ प्रतिशत थियो ।

चालु आवको भदौसम्ममा वाणिज्य बैंकको औसत खराब कर्जा ४.४४ प्रतिशत छ । त्यसैगरी विकास बैंकहरूको कुल कर्जामा ५.०३ र फाइनान्स कम्पनीहरुको ११.०५ प्रतिशत खराब कर्जा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

विगतमा धितो सकार्ने सीमाकै कारण असुलीमा समस्या हुँदा खराब कर्जा उच्च देखिएको हो । पछिल्लो समय समस्यामा परेका कर्जालाई आवश्यक प्रक्रिया पूरा गरेर बैंकहरुले सकार्ने क्रम बढेकाले गैर बैंकिङ सम्पत्ति उल्लेख्य बढेको हो ।

बैंक तथा वित्तीय संस्थाले कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरको छ । संस्थाले कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभएमा आफैँले सकार गर्नु पर्ने हुन्छ । यसरी बैंक वित्तीय संस्थाले गैरबैंकिङ सम्पत्ति समेत बिक्री गर्न नसकेको अवस्थामा त्यसलाई अपलेखन गर्न सक्छन् ।

तर, कर्जा अपलेखन गर्दा बैंक तथा वित्तीय संस्थाले कर्जा खराब बर्गमा परी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था भइसकेको हुनुपर्ने व्यवस्था छ । कर्जा असूलिका लागि प्रचलित ऐन तथा नीति बमोजिम धितो सुरक्षणको लिलाम बिक्रीको प्रक्रिया सम्पन्न गरेको हुनुपर्छ । साथै कर्जाको धितो सुरक्षण लिलाम बिक्री हुन नसकेको अवस्थामा अनिवार्य रुपमा धितो सकार गरेको अवस्थामा मात्र कर्जा अपलेखन गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार  १० : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।