विदेशी डबिङ विज्ञापन प्रशारण गर्ने टेलिभिजनलाई कारवाहीको तयारी

0
Shares

सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ ।

सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो ।

विज्ञापन बोर्डले एक सूचना प्रकाशन गर्दै विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने जनाएको हो । विज्ञापन ऐन आएको १४ महिना अर्थात् क्लिनफिड लागू भएको साढे दुई महिनासम्म कानूनअनुसार केही टेलिभिजन च्यानल प्रसारण नभएको भन्दै कारवाहीको तयारी गरिएको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिए ।

उनका अनुसार यसअघि कानूनको पालना नगर्ने टेलिभिजन च्यानललाई लिखितरुपमा जानकारी गराइएको र पटकपटकको अनुरोधमा सुधार नआएपछि कारवाही हुनेछ । “कानूनको पालना गर्नु हामी सबैको कर्तव्य हो, एक पटक गल्ती गर्नेलाई छुट दिइन्छ, तर पटक पटक सोही गल्ती गर्नेलाई छुट नभएर कारवाही हुन्छ”, उनले भने ।

विस २०७६ मा ल्याइएको विज्ञापन ऐनअनुसार २०७७ कात्तिक ८ गतेदेखि विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रसारण भएका छन् । शुरुआती चरणमा केही च्यानल रोकिए पनि हाल सबै च्यानल पुनःविज्ञापनरहित रुपमा प्रसारण शुरु भइसकेको व्यवसायी बताउछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।