म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ मा म्याग्दीका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलमा पूर्वाधार निर्माणका लागि २४ वटा योजनामा एक करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने पदमार्ग, पर्यटनस्थल तथा धार्मिकस्थलको पूर्वाधार विकाससम्बन्धी योजनाका लागि उक्त बजेट विनियोजन गरिएको हो । कार्यालय प्रमुख मिता थापामगरका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय तथा धार्मिक गन्तव्यमा पहुँच विस्तार, पदमार्ग निर्माण र आवश्यक भौतिक पूर्वाधार विकास गर्न बजेट छुट्याइएको हो ।
मालिका गाउँपालिकामा प्रभुचेला ध्यानाश्रमको भौतिक पूर्वाधार निर्माण, बराह ताल तथा बराही मन्दिर क्षेत्रमा पार्क निर्माण, मालिका धुरी पदमार्ग र अर्कलादेखि बाइन्दफाँट–बराहताल पदमार्गका लागि १० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ । लामखोरिया–डाँडागाउँ र रुम गाउँ पदमार्ग निर्माणका लागि पाँच लाख रुपैयाँका दरले बजेट छुट्याइएको छ ।
धवलागिरि गाउँपालिकामा मुना बस्ती, पन्थोक बस्ती र खिवाङ–भदौरे धुरी पदमार्ग निर्माणका लागि १० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ ।
रघुगङ्गा गाउँपालिकामा दोभान–नागी–देवीस्थान पदमार्गका लागि १० लाख रुपैयाँ तथा माइथानदेखि ओडारे, मुलपानी टोल, दिङ पुलदेखि मल्लाको पाखो हुँदै दुलेपानी र रावलखेत हुँदै राममन्दिरसम्मका पदमार्ग निर्माणका लागि पाँच लाख रुपैयाँका दरले बजेट छुट्याइएको छ ।
अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण आधार शिविरको पूर्वाधार, मौरिस हर्जोग पदमार्ग तथा अन्धगल्छी–रुप्से झरना–मतिचौर–भुरुङ हुँदै धौलागिरि आइसफल जाने पदमार्ग निर्माणका लागि १० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ । घोरेपानी–पुनहिल पर्यटन पूर्वाधार विकासका लागि १० लाख रुपैयाँ र उपल्लो खोरे–पञ्चौलीडाँडा पदमार्ग निर्माणका लागि पाँच लाख रुपैयाँ छुट्याइएको छ ।
मङ्गला गाउँपालिकामा सिमलचौर–लामोछहरा–टोड्के पदमार्ग निर्माणका लागि १० लाख रुपैयाँ तथा उपल्लो बुकेनी–खरबाने–ससधारा–गम्फा र कुहुँ गाउँ पदमार्ग निर्माणका लागि पाँच लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ ।
बेनी नगरपालिकामा पात्लेखेत–भण्डारीगाउँ–ओल्वोड–ओखरबोट, पाखाथर–उपल्लोथर–चुच्चेढुङ्गा हुँदै खड्का भगवती र धिमिलाथरदेखि मोटरबाटोसम्म पदमार्ग निर्माणका लागि पाँच लाख रुपैयाँका दरले बजेट छुट्याइएको छ ।
एकीकृत सेवा कार्यालयका इञ्जिनियर सुमन बोगटीका अनुसार बजेट विनियोजन भएका योजना अहिले सर्वेक्षण तथा सम्झौताको चरणमा छन् । स्थलगत सर्वेक्षण र लागत अनुमान तयार गरी आवश्यक प्रक्रिया पूरा गरेर योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको उनले बताए ।
योजना सम्पन्न भएपछि जिल्लाका पर्यटकीय तथा धार्मिकस्थलसम्म पुग्न सहज हुनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रको आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यालयमार्फत गत आर्थिक वर्ष २०८२÷८३मा पनि म्याग्दीका २४ वटा पर्यटन पूर्वाधारसम्बन्धी योजनाका लागि एक करोड ४० लाख रुपैयाँ विनियोजन भएको थियो । तीमध्ये एक करोड १० लाख रुपैयाँका १९ वटा योजना सम्पन्न भएका थिए भने प्रतिकूल भूगोल, मौसमलगायत कारणले ३० लाख रुपैयाँका पाँचवटा योजना कार्यान्वयन हुन नसकेको इञ्जिनियर बोगटीले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष सम्पन्न योजनामार्फत जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा ४.१९ किलोमिटर पदमार्ग निर्माण गरिएको थियो । पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायत पूर्वाधार पनि निर्माण गरिएका थिए ।







