काठमाडौँ । यस वर्ष शरद ऋतुमा मनास्लु हिमाल आरोहीबाट १५ करोड रुपैयाँ बढी रोयल्टी संकलन भएको छ । शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिएका ३१ समूहबाट १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ रोयल्टी संकलन भएको हो ।
आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष २७९ जना पुरुष र ९५ जना महिला गरी जम्मा ३७४ जनाले अनुमति लिएको पर्यटन विभागको जनाएको छ ।
त्यसैगरी, सर्वोच्च शिखर सगरमाथाबाट ४२ लाख १२ हजार ३७५ रुपैयाँ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि २ आरोही समूह त्यसतर्फ गएका छन् । लोत्सै हिमाल आरोहीबाट ४ लाख १६ हजार ८५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
मकालु हिमाल आरोहीबाट ४ लाख २१ हजार ६५० रुपैयाँ, धौलागिरी हिमाल आरोहीबाट ७६ लाख २० हजार १५० रुपैयाँ र चोयू हिमाल आरोहीबाट ४ लाख २५ हजार १०० रुपैयाँ रोयल्टी संकलन भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस वर्षको शरद ऋतुमा ५९ हिमाल आरोहणबाट हालसम्म २५ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ । शुक्रबारसम्म १७५ आरोही समूहका आरोहीहरुबाट जम्मा २५ करोड ५१ लाख ६५ हजार ४३६ रुपैयाँ राजस्व संकलन भएको हो ।
विभागका अनुसार १ हजार १०५ जना पुरुष र ३४५ जना महिलासहित १ हजार ४५० जना आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।
जर्मनबाट आए ११८ जना आरोही
यस वर्षको अटम सिजनमा विभिन्न ८३ वटा मुलुकबाट नेपालका हिमाल आरोहण गर्न आएका छन् । ती ८३ मुलुकहरु मध्ये सबैभन्दा धेरै जर्मनबाट ११८ जना आरोहीहरुले हिमाल आरोहण गरेका छन् । यो वर्ष जर्मनबाट २६ महिला र ९२ पुरुषले हिमाल आरोहण गरेका छन् ।
त्यसैगरी, फ्रान्सबाट २० जना महिला र ९७ जना पुरुष गरी जम्मा ११७ जनाले हिमाल आरोहण गरेका छन् । चीनबाट ११० जना, बेलायतबाट १०६ जना, रसियाबाट १०४ जना र अमेरिकाबाट १०२ जनाले हिमाल आरोहण गरेका छन् ।
यो वर्षको अटम सिजनमा ८४ जना नेपालीहरुले विभिन्न हिमाल आरोहण गरेका छन् । त्यसैगरी, पोल्यान्डका ८१ जना, अष्ट्रेलियाका ४० जना, जापानका ३९ जना, क्यानडाका ३७ जना, स्वीजरल्यान्डका ३४ जना, इटालीका २८ जना लगायत विभिन्न मुलुकका १ हजार ४५० जनाले हिमाल आरोहण गरेका छन् ।












प्रतिक्रिया