नागढुङ्गा—सिस्नेखोला सुरुङमार्ग

नागढुंगा सुरुङमार्ग यो वर्ष सञ्चालनमा नआउने, व्यवस्थापनको जिम्मा अन्तराष्ट्रिय कम्पनीलाई


काठमाडौँ । दसैँ अघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको नागढुङ्गा—सिस्नेखोला सुरुङमार्ग यो वर्ष सञ्चालनमा नआउने भएको छ ।

नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान गरेको हो । जसको समयावधि पुस २ गतेसम्म तोकिएको छ ।

अनुभवी तथा सक्षम सेवा प्रदायक छनोट गरेर गाडि सञ्चालन गर्न ४ देखि ५ महिनासम्म लाग्ने अनुमान गरिएको छ ।

उपलब्ध जनशक्तिबाट सञ्चालन एवं मर्मत कठिन हुने भएकाले विशेष तालिमप्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको प्रवक्ता खड्काले बताए ।

सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ सञ्चालन एवम् मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्नुपर्ने हुनाले सुरुङ सञ्चालनमा ढिलाइ हुने सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता श्याम बहादुर खड्काले बताए । सुरुङमा विभागको हाल उपलब्ध जनशक्तिबाट सञ्चालन गर्न कठिन हुने भएकाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्नुपरेको उनको भनाइ छ ।

उपलब्ध जनशक्तिबाट सञ्चालन एवं मर्मत कठिन हुने भएकाले विशेष तालिमप्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको प्रवक्ता खड्काले बताए ।

‘नेपाली कम्पनीसँग सुरुङ मार्ग सञ्चालन गरेको अनुभव छैन’ उनले भने, ‘सुरुङभित्र कुनै दुर्घटना वा आगलागी भएमा हताहती बढी हुने र तत्काल जोखिम व्यवस्थापन गर्नुपर्ने भएकाले हामीसँग दक्षजनशक्ति नभएकाले बाहिरबाट ल्याउनुपर्यो । त्यसैले समय लाग्ने भएको हो ।’

सुरुङ मार्गको सुरक्षा (सेफ्टी) पाटोमा देखिएका केही प्राविधिक समस्याले हालसम्म सञ्चालनमा नआएको उनी बताउँछन् । बोलपत्रमार्फत कम्पनी छनोट भएपछि सञ्चालनमा आउने प्रवक्ता खड्काको भनाइ छ ।

बोलपत्र बुझाउने अन्तिम दिन आगामी पुस २ गते (१७ डिसेम्बर २०२५) रहेको छ । यस अवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ, फास्ट ट्रयाकजस्ता संरचनाहरु स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने उनी बताउँछन् ।

सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ। सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ। यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ।

सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन्। सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन्। ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८÷८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।

सुरुङमार्ग २०८० वैशाखमा सम्पन्न गर्नेगरी २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । आयोजनामा कोभिड तथा स्थानीयले गरेको अवरोधका कारण उक्त समयमा सम्पन्न हुन सकेको थिएन ।यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पनि दसैँअघि सञ्चालन गर्न निर्देशन दिइएका थिए । सडक विभाग र निर्माण कम्पनीबिच सुरुङ सञ्चालन गर्नेबारे छलफल पनि भएर उपत्यकाबाट बाहिरिँदा सुरुङ मार्ग खुला गर्न सुरुङ मार्ग, फ्लाइओभरको परीक्षणसमेत गरिएको थियो । तर हालसम्म सवारी सञ्चालनका लागि खुला गरिएको छैन ।

यो नेपालमा सञ्चालनमा आउन लागेको पहिलो सुरुङमार्ग हो । नागढुंगा नाका काठमाडौं प्रवेशको मुख्य सडक हो । धादिङको सिस्ने खोलादेखि चन्द्रागिरिको बलम्बुको सट्टा सुरुङ मार्ग प्रयोग गर्दा सडक २.५ किलोमिटर छोटो हुन्छ ।

मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर तोकिसकेको छ ।
नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय सरकारले गरेको छ ।

त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।
यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ ।

यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ। यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार  ०७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।