लक्ष्मी सनराइज क्यापिटलको वार्षिक साधारणसभाबाट ७.७२ करोड रुपैयाँ नगद लाभांश पारित


काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारण सभा शुक्रवार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८२/०८३ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परिक्षक श्री एनबिएसएम एण्ड एशोसिएट्स लाइ नै निरन्तरता दिने निर्णय गरेको छ ।

साथै, आषाढ मसान्त २०८२ को वासलात बमोजिम प्रति शेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् ७.७२ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशन सम्बन्धी मर्चेण्ट बैंकिङ्ग तथा सामुहिक लगानी कोष सम्बन्धी कार्यको शुरुवात गरी तीन दशक भन्दा अधिक समयदेखि नेपालको धितोपत्र बजारको विकासमा यस कम्पनीले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

कम्पनीले करिब ६ अर्ब बराबरको ५ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा छ वटै म्युचुअल फण्डले आ.व. २०८१/०८२ को मुनाफाबाट दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएको छ । साथै, विशिष्टीकृत लगानी कोष अन्तर्गत एक अरब पुँजी भएको लक्ष्मी सस्टनेवल ईनर्जी फण्डले दिगो उर्जाका क्षेत्रहरुमा लगानी गर्ने उद्देश्य राखेको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।