एसवाई प्यालनको आइपीओ भर्नु भयो ? यस्तो छ कम्पनीको वित्तिय अवस्था र उद्देश्य


काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको छ । जसमा आज कार्यालय अवधिसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको बारेमा

एसवाई प्यानलले २०७४ साल असार २० गते कम्पनी दर्ता भई काम सुरु गरेको थियो।

एसवाई प्यानल नेपाल लिमिटेडको कम्पनी रजिष्ट्रार कार्यालयमा २०७४ असार २० मा संस्थापक एसवाई को. लिमिटेड (तत्कालिन एसवाई प्यानल को लिमिटेड) दक्षिण कोरिया, दक्षिण कोरियन नागरिक बाङ योन जाई र लि वा चुनको अगुवाईमा दर्ता भई कारोबार सञ्चालन गर्दै आइरहेको छ।

स्यान्डविच इपिएस प्यानल र यूपिभिसि झ्याल तथा ढोका उत्पादन गर्ने उद्देश्यले क्रमशः २०७४ साउन १२ गते र २०७४ कात्तिक २० गते दुई फरक ईकाइको रुपमा उद्योग दर्ता भई हाल उत्पादन गर्दै आइरहेको छ।

कम्पनीले नेपाली नागरिकहरु संस्थापक शेयरधनीमा भित्राई २०७९ साल असार ८ गते प्रा. लि. बाट पब्लिक कम्पनीको रुपमा दर्ता भएको थियो।आर्थिक वर्ष २०८०–८१ को विवरण अनुसार, कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा रहेको छ । उत्पादनमूलक कम्पनीका लागि यो प्रतिशेयर आम्दानी राम्रो मान्न सकिन्छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँभन्दा बढी भएकाले एसवाइ कम्पनीके वित्तीय आधार बलियो भएको बुझ्न सकिन्छ ।

कम्पनीले आव २०८३÷८४ मा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४३ पैसा हुने प्रक्षेपण गरिएको छ । यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै, कम्पनीको डेब्ट इक्विटी रेसियो र डेब्ट एसेट्स रेसियोको अनुपात शून्य रहेको छ । जुन लगानीकर्ताका लागि कम जोखिमयुक्त मानिन्छ । कम्पनीले आव २०८३÷८४ मा कम्पनीको प्रतिशेयर नेटवथ १२७ रुपैयाँ ८० पैसा हुने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी इन्भेन्टरी टर्नओभर रेसियो २.०३ छ भने डेब्टर्स टर्नओभर रेसियो ३.९१ छ । यसले कम्पनीको बिक्री र असुली प्रक्रिया प्रभावकारी रहेको देखाँउछ । रिटर्न अन नेट एसेट्स ६.५ प्रतिशत रहेको छ।

कम्पनीको सञ्चित नाफा १२ करोड रुपैयाँभन्दा माथि पुगेको छ। राष्ट्र बैंकले स्वीकृत गरेको खुद कर्जा सीमा ७८ करोड रुपैयाँ रहेको छ । कम्पनीको जारी पूँजी १ अर्ब ३० करोडभन्दा माथि छ। त्यसमध्ये कम्पनीले ४० प्रतिशत अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्दैछ । एक सय रुपैयाँको दरले यसको कुल रकम रु. ५२ करोड ३२ लाखभन्दा बढी हुन्छ ।

कस्तो छ रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ।
इक्रा नेपालले कम्पनीलाई २०८२ भदौ ३१ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ भदौ ३० गतेसम्म रहनेछ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले आईपीओ निष्काशन गरी आफ्नो मुख्य कम्पनीसँगको सहकार्यमा नयाँ युपिभिसि उद्योगको स्थापना गर्ने बताएको छ । यसबाट युपिभिसि प्रोफाइल उत्पादन गर्न सहयोग गर्नेछ, जसबाट ठूलो आयातमुखी बजारलाई स्वदेशी विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी सर्वसाधारणको लागि शेयर जारी गरी संगठित संस्थामा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको छ । सेयर निष्काशनबाट प्राप्त हुने कूल रकम एसवाई युपिभिसि प्रोफाइल प्रालिमा ३९ करोड र एसवाई प्यानल नेपाल लिमिटेडको चालु पुँजी व्यवस्थापनमा १३ करोड ३२ लाख लगानी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार वृद्धि दर प्रवद्र्धन बलियो पूँजी आधारका साथ, आफ्नो वृद्धि दरलाई तीव्र बनाउने र उच्च गुणस्तरका प्यानल बजारमा उपलब्ध गराउँदै नेपालको प्यानल उद्योगमा योगदान गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  १० : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।