बैंकहरूमा अर्थतन्त्रको सुस्तता प्रभाव : निष्क्रिय कर्जा बढ्यो, नाफा दोब्बरले घट्यो


काठमाडौँ ।  सुस्त अर्थतन्त्रको प्रभाव अब बैंकिङ क्षेत्रमै प्रत्यक्ष देखिन थालेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा अघिल्लो वर्षको तुलनामा झण्डै १८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

गत वर्षको सोही अवधिमा करिब १८ अर्ब रुपैयाँ नाफा कमाएका बैंकहरूले यो वर्ष पहिलो त्रैमासमा १५ अर्ब रुपैयाँ नाफा मात्रै आर्जन गरेका छन् । लगानीको गति सुस्त, निक्षेपमा तीव्र प्रतिस्पर्धा, ब्याजदरको अस्थिरता र बढ्दो गैर–निष्क्रिय कर्जा बैंकहरूको नाफा घटाउने प्रमुख कारण बनेका छन् ।

बैंकरहरूका अनुसार निजी क्षेत्रको मनोबल कमजोर हुनु, ठूला परियोजनाहरू ढिलो सञ्चालन हुनु र उपभोग बजार नचलेका कारण ऋण प्रवाहमा कमी आएको छ । निक्षेप बढे पनि त्यसको तुलनामा लगानी विस्तार हुन नसक्दा ब्याज आम्दानी घटेको छ ।

त्यस्तै, कर्जा असुलीमा देखिएको चुनौतीका कारण बैंकहरूले लोन लस प्रोभिजनिङ बढाउनुपर्ने अवस्था आएको छ, जसले नाफामा थप दबाब सिर्जना गरेको हो । धेरै उद्योग र व्यवसायहरू पुनःसंरचना प्रक्रियामा रहेका कारण पनि कर्जा असुलीमा जोखिम बढेको विश्लेषण गरिएको छ ।

वित्तीय विश्लेषकहरूका भनाइमा यो अवस्था अस्थायी भए पनि अर्थतन्त्रमा विश्वास बढाउन सरकार र मौद्रिक नीतिले ठोस कदम चाल्नुपर्ने आवश्यकता छ । लगानी वातावरण सुधार नगरेसम्म र उत्पादन क्षेत्र पुनर्जीवित नगरेसम्म बैंकहरूको नाफा थप दबाबमा रहिरहने चेतावनी उनीहरूको छ ।

पहिलो त्रैमाससम्म दुई दर्जन बढी बैंकहरूको नाफामा गिरावट आएको छ । एनएमबी बैंक, हिमालयन, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मीसनराइज बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई, नबिल, प्राइम र कुमारी बैंकका नाफा गत वर्षभन्दा घटेको छ । सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंकले रहेको छ ।

केबल ५ बैंकको नाफा गत वर्षको तुलनामा बढेको छ । गत वर्षको तुलनामा एनआईसी एसिया बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेस्ट बैंकको खुद नाफा बढेको छ । बैंकहरुको सम्भावित कर्जा नोक्सानी व्यवस्थाको गत वर्षको पहिलो त्रैमासको तुलनामा करिब दोब्बरले बढेको छ । जसले गर्दा अधिकांश बैंकको नाफामा गिरावट आएको हो । पहिलो त्रैमासमा नै बैंकहरुले सम्भावित कर्जा नोक्सानीको लागि २० अर्ब १४ करोड रुपैयाँ छुट्याएका छन् । जबकी गत आर्थिक वर्षको यही अवधिमा १० अर्ब ४४ करोड ८ लाख रुपैयाँ मात्रै सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएका थिए ।

पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंकले सर्वाधिक १ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशतले बढी हो ।

यस्तै नबिल बैंकको भने नाफा १४.५७ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ७० लाखमा झरेको छ । खुद ब्याज आम्दानी केही बढेपनि प्रोभिजन पनि बढ्दा प्राइम कमर्सियल बैंकको नाफा २.२० प्रतिशतले घटेर १ अर्ब २८ करोड ८४ लाख रुपैयाँमा झरेको छ । त्यस्तै एभरेष्ट बैंकको नाफा ४.५७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कर्जा नोक्सानी व्यवस्था बढेपनि बैंकको खुद ब्याज आम्दानीसँगै सबै आम्दानीमा वृद्धि हुँदा नाफा सामान्य बढेको हो ।

कुमारी बैंकको कर्जा नोक्सानी व्यवस्था सतप्रतिशतले बढेर १ अर्ब २६ करोड ४१ लाख पुग्दा नाफा २.०१ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासमा सबैभन्दा धेरै कर्जा नोक्सानी व्यवस्था नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४ लाख रुपैयाँ गरेको छ भने नाफा ४ करोड ५१ लाख रुपैयाँ मात्रै छ ।

त्यस्तै लक्ष्मी सनराइज बैंकले १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा ३३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ ।

सिटिजन्स बैंकले १ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरणले देखाएको छ ।

कृषि विकास बैंकले १ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्दा ५७ लाख नाफा कमााएको छ । सिद्धार्थ बैंकले १ अर्ब ३८ करोड ८८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा ३२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ ।

कुमारी बैंकले १ अर्ब २६ करोड ४१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो ।

एनआईसी एशिया बैंकले कर्जा नोक्सानी व्यवस्थामा १ अर्ब १८ करोड ६५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले १ अर्ब १ करोड १० लाख र प्रभु बैंकले १ अर्ब ३८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका छन् ।

यता, ग्लोबल आईएमईको नाफा सबैभन्दा धेरै हुँदा एनआईसी एशियाको १२ करोड २२ लाख र प्रभु बैंकको ५५ करोड ८५ लाख रुपैयाँ नाफा छ ।

औसत निष्क्रिय कर्जा ४.५९ प्रतिशत

पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूको खराब कर्जा उच्च विन्दुमा पुगेको छ । औसतमा यस्तो खराब कर्जा ४.५९ प्रतिशत रहेको देखिन्छ । गत वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा औसतमा ३.८९ प्रतिशत थियो । गत वर्षको तुलनामा बैंकहरूको खराब कर्जा करिब ०.७० प्रतिशत बढेको छ ।

निष्क्रिय कर्जा ५ प्रतिशत वा सोभन्दा माथि हुनेमा हिमालयन र एनआईसी एशियापछि कुमारी बैंकको ६.९८ प्रतिशत, सिटिजन्स बैंकको ६.८४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.६३ प्रतिशत छ । त्यस्तै प्राइमको ५.८६ प्रतिशत, प्रभुको ५.७८ प्रतिशत, नेपाल बैंकको ५.४९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.४२ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ ।

असोजमा १ प्रतिशतभन्दा तल निष्क्रिय कर्जा हुनेमा एभरेष्ट बैंक मात्रै छ, जसको निष्क्रिय कर्जा ०.७४ प्रतिशत छ । यस्तै स्ट्यान्डर्ड चार्टर्डको १.७१ प्रतिशत र नेपाल एसबीआई बैंकको ३.०८ प्रतिशत पुगेको छ । एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डको गत आवको पहिलो त्रैमासको तुलनामा निष्क्रिय कर्जा अनुपात सामान्य घट्दा नेपाल एसबीआईको भने १.८४ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको हो ।
सिद्धार्थको पनि ३.९१ प्रतिशतबाट ३.८० प्रतिशतमा झरेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको ४.२३ बाट ३.८३ मा झर्दा सानिमाको २.९४ प्रतिशतबाट बढेर ३.९१ प्रतिशत पुगेको हो ।
माछापुच्छ्रे बैंकको ४.१३ प्रतिशत, नबिलको ४.३१ प्रतिशत, एनएमबीको ४.५८ प्रतिशत र कृषि विकास बैंकको निष्क्रिय कर्जा ४.७८ प्रतिशत छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  ११ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।