काठमाडौं । यो साता नेप्सेमा ५० अंकको गिरावट आएको छ । गत साताको कारोबारको अन्तिम दिन बिहीबार २५९६.१२ अंकमा पुगेको नेप्से यो साताको अन्तिम कारोबार दिन बिहीबार २५४५.७३ अंकमा पुगेको छ ।
गत आइतबार ३०.०२ अंकले घटेर २५६६.०९ अंकमा पुगेको थियो । सोमबार पनि बजारमा गिरावट कायम रहँदा नेप्से ४.१५ अंकले घटेर २५६१.९४ अंकमा पुगेको थियो । साताको पहिलो दुई कारोबार दिनमा लगातार घटेको नेप्से मंगलबार भने सामान्य बढेको थियो । मंगलबार नेप्से ३.२१ अंकले बढेर २५६५.१६ अंकमा पुगेकोमा बढ्ने क्रमलाई निरन्तरता दिन नसक्दा बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४.५९ अंकमा पुगेको थियो । साताको कारोबारको अन्तिम दिन बिहीबार सामान्य बढेको छ । बिहीबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ अंकमा पुगेर बजार बन्द भयो ।
कुन दिन कतिको कारोबार भयो
गत साताको कारोबारको अन्तिम दिन बिहीबार ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँ पुगेको कारोबार रकम यो साताको अन्तिम दिन बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँमा खुम्चिएको छ । यो साताको कारोबारको पहिलो दिन आइतबार ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँको कारोबार भएको थियो । यो साताभरि कारोबार रकममा लगातार गिरावट आएको छ । कारोबार रकममा गिरावट कायम रहँदा सोमबार ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको कारोबार हुँदा मंगलबार ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँ र बुधबार ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँ पुगेको थियो ।
राष्ट्र बैंकले सेयर बजार सुधारको लागि सेयर धितो कर्जाको सीमा हटाउनुका साथै संस्थागत लगानीकर्ता सम्बन्धी व्यवस्थालाई सहज बनाएको छ । तर पनि सेयर बजार नबढ्नुमा अस्थिर राजनीति कारण भएको जानकारहरू बताउँछन् ।
राष्ट्र बैंक र अर्थमन्त्रालयको निर्णयहरुले बजारलाई सकारात्मक दिशा दिने आशा गरिएको थियो । तर, लगानीकर्ताहरुको माग अनुसार सबै नीतिगत अवरोधहरु हटाएपनि बजारमा दीर्घकालीन उत्साह देखिन सकेको छैन । यसको मुख्य कारण देशमा भएको आन्दोलनले सिर्जना गरेको राजनीतिक अस्थिरता र अनिश्चितता रहेको सेयर बजारका जानकारहरू बताउँछन् । राष्ट्र बैंकले डोरी फुकालिदिएपनि देशव्यापी रुपमा भएको आन्दोलन, हिंसा र त्यसपछिको सिर्जित राजनीतिक अस्थिरताले लगानीकर्ताको मनोबलमा गम्भीर चोट पु¥याएको सेयरबजारका जानकार छोटेलाल रौनियार बताउँछन् । साथै उनले राष्ट्र बैंकले अरु नीतिहरु खुकुलो गरेपनि बैंकहरुलाई धेरै नीतिहरुमा कडाई गरेको कारणले गर्दा पनि बजार घटेको बताए । रौनियारले भने, “पहिले बैंकले सेयर बिक्री गर्न पाउँथ्यो लगानीकर्ताले किन्न पाउँथे । तर त्यो पनि राष्ट्र बैंकले बन्द गरेको छ । जसले गर्दा बैंकहरुले लगानी गर्न पाएका छैनन् । यसले पनि बजारमा गिरावट आएको हो ।”
तर रौनियारले केही दिनको अन्यौलताले बजार घटे पनि बजारमा लगानी गर्नको लागि अहिले उचित समय भएको बताए । उनले भने, “सेयर बजारमा रिक्स त सधैं हुन्छ तर अहिलेको बजारमा २५ प्रतिशत मात्र रिक्स छ भने ७५ प्रतिशत फाइदा नै हुने देखिएको छ । यसको लागि लगानीकर्ताले धैर्य भएर दीर्घकालीन सोच राखेर लगानी गर्नुपर्छ ।” बजार घटेको समयमा नै राम्रो राम्रो कम्पनीहरुको सेयर खरिद गरेर आम्दानी कमाउने मौका भएको दाबी गर्दै उनले भने, “बजार घटेको समयमा नै लगानी गर्नुपर्छ ।”
देशमा देखिएको राजनीतिक अनिश्चितताले गर्दा लगानीकर्ताहरुमा आशा भन्दा पनि डर हावी भएको कारण बजार लगातार घटेको ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष भरत रानाभाटको भनाई छ । उनका अनुसार, “अर्थतन्त्रमा बाह्य क्षेत्र र वित्तीय नीतिहरुमा गरिएको सुधार आफैँमा महत्त्वपूर्ण छ । तर पूँजी बजार विश्वासले चल्छ ।” देशभर आन्दोलन हुँदा, व्यापारिक गतिविधिमा अवरोध हुँदा र राजनीतिक भविष्य अनिश्चित हुँदा लगानीकर्तामा डरको वातावरण सिर्जना हुने र यो डर हटाउन नीतिगत सुधारले तत्काल काम नगर्ने उनको बुझाई छ ।
कुन कम्पनीको मूल्य सबैभन्दा बढी बढ्यो
आइतबार दरमखोला हाइड्रो, मबिलुङ इनर्जी, सागर डिस्टीलरी र रुरु जलविद्युत आयोजनाको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।
सोमबार दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टीलरी, बुङगल हाइड्रो, माबिलुङ इनर्जी र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।
सोमबार साइन रेसुङगा डेभेन्चर र बन्दीपुर केबलकारको सेयर मूल्यमा साकारात्मक सर्किट लागेको बजारमा माबिलुङ इनर्जी, सागर डिस्टीलरी र बुङगल हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको थियो ।
मंगलबार भुगोल इनर्जी र सागर डिस्टीलरीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा बुङ्गल हाइड्रो र बन्दीपुर केबल कारको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको थियो ।
बिहीबार माबिलुङ इनर्जी र स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सागर डिस्टीलरी र बुङगल हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले र बन्दीपुर केबलकारको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
कुन कम्पनीको सेयर मूल्य सबैभन्दा बढी घट्यो
यो साताको कारोबारको पहिलो र दोस्रो दिन आइतबार र सोमबार उन्नती सहकार्य लघुवित्तको सेयर मूलय १० प्रतिशतले घटेको थियो ।
मंगलबार दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य सबैभन्दा बढी ८.७२ प्रतिशतले घटेको बजारमा माबिलुङ इनर्जीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको थियो ।
बुधबार नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ४.८२ प्रतिशतले घटेको थियो ।
कुन कम्पनीको सबैभन्दा बढी कारोबार भयो
आइतबार युनियन हाइड्रोपावरले सबैभन्दा बढी २७ करोड ७६ लाख ७३ हजार रुपैयाँको कारोबार गरेको थियो ।
सोमबार एनआरएन इन्फ्रास्टक्चर ४८ करोड ८८ लाख ८८ हजार रुपैयाँको कारोबार गरेको थियो ।
मंगलबार शाहस ऊर्जा ३५ करोड ५८ लाख ७१ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहेका थियो ।
बुधबार सबैभन्दा बढी एनआरएनए इन्फ्रास्टक्चर ४० करोड ३४ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
यो साताको कारोबारको अन्तिम दिन बिहीबार हिमालयन पावर पाटनरले सबैभन्दा बढी १६ करोड ८० लाख ४३ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
कुन दिन कति कायम भयो त बजार पूँजीकरण
गत साताको कारोबारको अन्तिम दिन बिहीबार ४३ खर्ब ४५ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ कायम भएको कूल बजार पूँजीकरण यो साताको बिहीबार ४२ खर्ब ७३ अर्ब १४ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।
साताको पहिलो दिन आइतबार कुल बजार पूँजीकरण ४२ खर्ब ९५ अर्ब ६७ करोड ५६ लाख ९३ हजार रुपैयाँ कायम भएको थियो ।
सोमबार कूल बजार पूँजीकरण ४२ खर्ब ९१ अर्ब २६ करोड ९९ लाख ७७ हजार रुपैयाँ कायम हुँदा मंगलबार ४२ खर्ब ९६ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ कायम भएको थियो ।
नेप्सेमा आएको गिरावटसँगै बजार पूँजीकरण पनि खुम्चिदै जाँदा बुधबार बजार पूँजीकरण ४२ खर्ब ७१ अर्ब २४ करोड ५ लाख रुपैयाँ कायम भएको थियो ।
बिहीबारको कारोबारसँगै कूल बजार पूँजीकरण बुधबार बजार पूँजीकरण ४२ खर्ब ७१ अर्ब २४ करोड ५ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया