अण्डा महँगियो, उत्पादक र व्यापारीको मिलेमतोले उपभोक्ता मारमा !


काठमाडौँ । अवैध अण्डा आयात हुन छाडेपछि नेपाली बजारमा अण्डाको मूल्य बढेको छ । जसको प्रत्यक्ष मार आम उपभोक्तालाई परेको छ । अण्डाको मूल्य आइतबारबाट लागु हुनेगरी वृद्धि भएको हो ।

निर्वाचनका कारण भारतीय सीमा क्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । जसले गर्दा नेपाली बजारमा अण्डाको मूल्यमा भारी वृद्धि भएको हो ।

नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ, ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ र मिडिएम चार सय ९० रुपैया कायम गरिएको छ । अण्डा यसअघिको मूल्यभन्दा प्रतिक्रेट ५५ रुपैयाँले बढेको हो । यो मूल्य किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गरेको संघले जनाएको छ ।

अहिले अण्डा किन्दा प्रतिगोटा २० रुपैयाँभन्दा बढी र प्रतिक्रेट कम्तीमा ५०० रुपैयाँ पर्न जान्छ । नेपालीका लागि प्रोटिनको मुख्य स्रोत मानिने अण्डाको अचाक्ली मूल्यवृद्धिले आम उपभोक्ता मारमा पारेका छन् ।

तर, उपभोक्ता अधिकारकर्मीहरूले भने यसलाई उत्पादक संघ र व्यापारीको मिलेमतोको परिणाम भएको दाबी गर्दै मूल्य निर्धारणमा सरकारी मापदण्ड नहुनुलाई मुख्य कमजोरी भएको बताएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जन सरकार उपभोक्तामाथि अपराध गरिरहेको बताउँछन् । नेपालमा कुखुराको अण्डाको मूल्यमा भइरहेको निरन्तर वृद्धि उत्पादक संघहरूले गरेको मिलेमतोको परिणाम भएको र यसमा सरकारी निकायले नै आपराधिक गतिविधि गर्ने वातावरण बनाइरहेको आरोप उनले लगाए ।

जबकी भारतबाट आउने अण्डाको मात्रा नहुँदा पनि भारतमा भएको निर्वाचनका कारण आयात रोकिएर मूल्य बढाएको भन्नु उचित नरहेको उनको भनाई छ । नेपालमा अण्डाको बजारमा संस्था बनाएर सिन्डिकेट लागु गरि मिलेमतोमा मूल्य निर्धारण भइरहेको उनले दाबी गरे ।
यस्तो गतिविधिले बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरी उपभोक्तालाई ठग्ने काम गरिरहेको उनको दाबी छ । कानुनले यस्ता गतिविधिलाई अपराध मानेको भए पनि यसलाई नियन्त्रण गर्ने निकाय उदासीन रहेको महर्जनको आरोप छ ।

संघले गर्मी महिनामा गर्मीले गर्दा कुखुराले प्रयाप्त मात्रामा अण्डा उत्पादन गर्न नसकेको, जाडोमा पनि तापक्रमको मात्रा नपुगेकोले अण्डा उत्पादन हुन सकेन र कहिले दानाको मूल्य बढेको कारण भन्दै अण्डाको मूल्य बढाउने गरेको महर्जनको दाबी छ । संघले उपभोक्तालाई अनेक बाहानामा ठगेको महर्जनको आरोप छ ।

निश्चित व्यवसायीहरु मिलेर बजारमा अण्डाको मूल्य तोकिनु अवैध र मिलेमतो भए पनि सरकारी निकाय मौन बस्दा उपभोक्ता मर्कामा परेको उनको तर्क छ ।

कुखुरा, दाना, चल्ला र अण्डा उत्पादन गर्ने र बजार मूल्य तोक्ने समूह एउटा भएको र ती सरकारबाट संरक्षित रहेको छ । ‘उत्पादन भएको अण्डा कोल्ड स्टोरमा लुकाउने र बजारमा अभाव सृजना गरेर मूल्य बढाउने धन्दा चलेको छ, यसमा सरकारले अनुगमन गर्नुपर्छ,’ उनले भने । कुखुराजन्य उत्पादनको बजार मूल्य तोक्ने काम निश्चित व्यापारीले गर्नु गलत भएको पनि उनले बताए ।

अण्डाको मूल्यमा भइरहेको यो वृद्धिले गर्दा उपभोक्ता मारमा परेका छन् । यस सन्दर्भमा, मूल्य नियन्त्रणको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार नियन्त्रणमा आफू निरीह बनेको स्वीकार गरेको छ । साथै विभागले अण्डाको मूल्य तोक्ने कुनै स्पष्ट मापदण्ड नभएको पनि स्वीकार गरेको छ ।

विभाग स्रोत अनुसार, खुला सिमाना भएकै कारणले भारतबाट अवैध रूपमा कुखुरा र अण्डाको आयात भइरहेको छ ।

बजार अनुगमन र नियन्त्रणको काम भइरहेको भए पनि, खुला सिमानाको चुनौती र उत्पादकहरूको बलियो मिलेमतोका कारण विभाग मूल्य नियन्त्रण गर्न प्रभावकारी बन्न नसकेको विभागले स्वीकारोक्ती छ । यसले बजारमा नियामक निकायको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ । विभागका एक प्रतिनिधिले भने,’हामीले मूल्य नियन्त्रणको पहल गर्छौं, अनुमगन पनि गर्छौं र कारबाही पनि । तर व्यवसायीहरूले हामीलाई नटेरेको सत्य हो ।’

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनले विभिन्न संघको नाममा वस्तुको मूल्य तोक्ने कार्यलाई निषेध गरेको छ । तर, नेपाल अण्डा उत्पादक संघ वर्षौंदेखि चलाइरहेको कार्टेलिङमा नेपाल लेयर्स कुखुरा पालक संघ नामको अर्को संघ थपिँदा पनि नियामक निकायले कुनै कारबाही गर्न सकेको छैन ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  ०८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।