कुमारी बैंकको २१.२५ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

0
Shares

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने बैशाख ५ गते बिहीबार अन्तिम दिन रहेको छ। बैंकले साधारण सभाका लागि शुक्रबार बुकक्लोज गर्दैछ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले दुई आर्थिक वर्षको गरि कूल २१.२५ प्रतिशत बोनस पाउनेछन् ।

बैंकको शेयरमूल्य बैशाख ४ गते बुधबार प्रतिकित्ता २५८ रुपैयाँमा कारोबार भएको छ ।

बैंकले आगामी बैशाख २६ गते बिहीबार एकैदिन सत्रौं र अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ। आर्थिक वर्ष २०७३/७४को पनि साधारण सभा गर्न बाँकी रहेको बैंकले २०७४/७५ को सहित एकैदिन सभा आह्वान गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बिहान १०:३० बजे डाकेको साधारण सभामा आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ८.५० प्रतिशत गरि कूल २१.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव छ।

यसैगरि बैंकको आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र दलाल सम्बन्धि कार्य गनै प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट २।२ जना गरि ४ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।

एक अर्ब ५२ करोड २१ लाख ७८ हजार १३९ रूपैयाँ बोनस वितरण पश्चात बैंकको चुक्त्ता पूँजी ८ अर्ब ६८ करोड ४५ लाख ७३ हजार ११९ रूपैयाँ पुग्नेछ ।

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली र काक्रेविहार विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ती गरेको कारण बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ । बैंकले २०७४ असार १६ गतेदेखि चारवटै संस्थालाई प्राप्ती गरि एकीकृत कारोबार थालेको थियो ।