महालक्ष्मी विकास बैंकले संस्थापक शेयर हिस्सा ५१ प्रतिशतमा झार्ने

0
Shares

महालक्ष्मी विकास बैंक (MLBL) ले संस्थापक तर्फको शेयर हिस्सा ५१ प्रतिशतमा घटाउने भएको छ ।

बैंकले हाल कायम संस्थापक तर्फको ५२.४९ प्रतिशत हिस्सालाई ५१ प्रतिशतमा झार्न संस्थापकहरुको अनुमति मागेको हो ।

बैक सञ्चालक समितिको पुस १५ गते सम्पन्न सञ्चालक समितिको ४७० औं बैठकले बैंकको संस्थापकहरुको हिस्सा घटाएर सर्वसाधारणमा रुपान्तरण गर्न लागेको हो । जसका लागि बैंकले विद्यमान संस्थापक शेयरधनीलाई आफ्नो संस्थापक शेयर सर्वसाधारणतर्फ परिणत गर्न नचाहेको खण्डमा ३५ दिनभित्र लिखित रुपमा स्व:घोषणा गर्न अनुरोध गरेको छ ।

यस्तो घोषणा बैंकको केन्द्रीय कार्यालय दरवारमार्गमा बुझाउन सकिने बैंकले जनाएको छ । सर्वसाधारणतर्फ परिणत नगर्न लिखित रुपमा स्वघोषणा नगरे संस्थापक शेयर स्वतः सर्वसाधारणतर्फ परिणत हुनेछ । संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र लिखित रुपमा स्वः घोषणा नगरेमा कुनै उजुरी नलाग्ने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकले संस्थापक शेयर हिस्सा ५१ प्रतिशतसम्म झार्नसक्ने भएपछि बैंक सञ्चालक समितिको निर्णय अनुसार बैंकले संस्थापक हिस्सा घटाएर साधारण हिस्सा बढाउन लागेको हो।  राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर पूँजी न्यूनतम ५१ प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

यसअघि माहालक्ष्मी विकास बैंकमा संस्थापक तर्फको ५२.४९ प्रतिशत र सर्वसाधारण तर्फको ४७.५१ प्रतिशत हिस्सा कायम थियो । यस्तै बैंकले हालसम्म शेयर अभौतिकरण नगरेका शेयरधनीहरुलाई ययथाशीघ्र शेयर अभौतिकिकरण गर्न समेत आग्रह गरेको छ ।

धितोपत्रको दोस्रो बजारमा माघ ६ गते मंगलबार महालक्ष्मी बैंकको सर्वसाधारण तर्फको शेयर मूल्य २९३ रुपैयाँ छ भने संस्थापकतर्फको शेयर मूल्य १०९ रुपैयाँ छ। संस्थापक शेयरधनीहरुको शेयर सर्वसाधारणतर्फ परिणत हुँदा संस्थापक लगानीकर्ताहरुले सर्वसाधारण शेयरको दोस्रो बजारको भ्यालु पाउन सक्नेछन् भने शेयरको आपूर्ति बढ्ने गई सर्वसाधारण तर्फको शेयरमूल्यमा भने गिरावट आउनसक्ने अवस्था रहन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।