चार महिनामा ६ कम्पनीले मात्र पाए आईपीओ निष्काशन अनुमति, ८१ कम्पनी पाइपलाइनमै अड्किए


काठमाडौँ । चालु आर्थिक वर्षको ४ महिनामा ६ कम्पनीले मात्र सार्वजनिक निष्काशन (आईपीओ)को अनुमती पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साउनदेखि कात्तिकसम्म ६ कम्पनीलाई आईपीओ निष्काशनको अनुमती दिएको हो ।

जसमा सागर डिस्टिलरी, श्रीनगर एग्रोटिज, एसवाई प्यालन, सोलु हाइड्रोपावर, सालपा विकास बैंकले आईपिओ जारी गरिसकेका छन् भने भुजुङ हाइड्रोपावरको आईपिओ निष्काशनको प्रक्रियामा रहेको छ ।

चालु आवमा निष्काशन अनुमती दिइएका कम्पनीमध्ये दुई कम्पनीको सेयर मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

२०८१ मंसिर १० गते धितोपत्र बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका थिए । श्रेष्ठ नियुक्तीको एक वर्षको अवधि मात्र हेर्ने हो भने पनि आईपीओ निष्कासन सन्तोषजनक नभएको निजी क्षेत्रले बताउँदै आइरहेका छन् । श्रेष्ठ नियुक्त भएको एक वर्षमा १९ वटा कम्पनीले मात्र निष्काशन अनुमती पाएका छन् ।

सेबोनले  लगानीकर्तामाथि दबाब सिर्जना गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आरोप लगाए । उनले आईपीओमा भएको ढिलाईका विषयमा सरकारी तबरबाटै सुधारको पहल सुरु हुनुपर्नेमा जोड दिए ।
अर्थ मन्त्रालय मातहतको नियामक निकायले नीतिगतरूपमै लगानीको वातावरण बनाउनुपर्नेमा उल्टै व्यवसायीलाई दुःख दिने काम गरेको उनको आरोप छ । सेबोनको अकर्मण्यता र लापरबाहीका कारण पुँजी संकलन गरेर महत्त्वपूर्ण आयोजना सञ्चालन गर्ने काम रोकिएको उनी बताउँछन् ।

सेबोनले अनेक बहानामा आईपीओ रोकेर अनावश्यक रुपमा व्यवसायीहरुलाई दुख दिने काम गरिरहेको ढकालको भनाइ छ । उनले भने, ‘कम्पनीको प्रति सेयर नेटवर्थका नाममा पनि व्यवसायीहरूलाई दुःख दिने काम भइरहेको छ ।’

यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले सेबोनले वर्षैदेखि अनुमती पर्खिरहेका कम्पनीलाई निष्काशन अनुमति नदिँदा कम्पनीहरू समस्यामा परेको बताए । समयमा आइपिओ निष्कासन गर्न नपाउँदा बैंक लोन, लगानी बढ्दै गएको उनी बताउँछन् । बोर्डको आन्तरिक समस्याले हाइड्रोपावर क्षेत्रलाई असर गरेको उनको तर्क छ ।
यता, आईपीओ निष्काशन प्रक्रियालाई प्राथमितकता दिइरहेको धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए ।

बार्डका कर्मचारी आन्दोलित हु्ँदा २ महिनादेखि आईपीओ निष्काशन ठप्प रहेको थियो । आईपीओ निष्काशनलाई आन्दोलनले प्रभाव पारेको बताउँदै उनले आइपीओ निष्काशनका विषयमा कम्पनीहरु अध्ययन भइरहेको उनले बताए ।

आइपीओ पाइपलाइनमा भएका कम्पनीहरुको नयाँ वित्तिय विवरण माग्ने क्रम जारी रहेको उनको भनाइ छ ।

८१ कम्पनीको ३७ करोड ७२ लाख कित्ता पाइपलाइनमा

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ८१ वटा कम्पनी आइपीओ अनुमतीको प्रतिक्षामा रहेका छन् । सेबोनमा विभिन्न क्षेत्रका ८१ वटा कम्पनीको ३७ करोड ७२ लाख ६० हजार ९५५ कित्ता आइपिओ निष्कासन अनुमतिको पाइपलाइनमा छ ।

५४ अर्ब ४२ करोड ७२ लाख ४९ हजार ८६१ रुपैयाँ बराबरको ३७ करोड ५४ लाख कित्ता आइपिओ निष्कासनको पाइपलाइनमा रहेको हो । पाँच होटल तथा पर्यटन, ३९ जलविद्युत्, ४ लगानी, १९ उत्पादन तथा प्रशोधन, ३ माइक्रो इन्स्योरेन्स र ११ अन्य समूहका कम्पनीले ५४ अर्ब ४२ करोड ७२ लाख ५९ हजार ८ सय ६१ रुपैयाँ बराबरको ३७ करोड ९७ लाख ५२ हजार ८ सय ८३ कित्ता आइपिओ निष्काशन गर्न लागेका हुन् ।

आइपिओको पाइपलाइनमा सबै भन्दा धेरै हाइड्रोपावर क्षेत्रका कम्पनी रहेका छन् । हाइड्रो क्षेत्रका मात्रै ३९ वटा कम्पनीहरु बोर्डबाट आईपीओ जारी गर्ने स्वीकृतिको प्रतीक्षामा रहेको धितोपत्र बोर्डको तथ्यांक छ ।

तथ्यांकअनुसार ३९ वटा हाइड्रोपावर कम्पनीका १७ करोड ४ लाख ९३ हजार २७४ कित्ताको १७ अर्ब ४५ करोड ६५ लाख ९० हजार २३६ रुपैयाँ बराबरको आइपिओ पाइपलाइनमा रहेको हो ।
आईपीओ जारी गर्न खोज्नेमा सानिमा हाइड्रोपावर लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, दरमखोला हाइड्रो इनर्जी लिमिटेड, बेनी हाइड्रोपावर लिमिटेडलगायत छन् ।

त्यस्तै, मबिलुङ्ग हाइड्रोपावर लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, विकास हाइड्रोपावर कम्पनी, कालिञ्चोक हाइड्रोपावर लिमिटेडलगायत कम्पनीहरु आईपीओ पाइपलाइनमा छन् ।

अहिले पाइपलाइनमा रहेका समूहमध्ये रकमका आधारमा सबैभन्दा धेरै आईपीओ उत्पादन तथा प्रशोधन समूहको रहेको छ । यो समूहको कुल २७ अर्ब ४५ करोड ७४ लाख १६ हजार ७२५ रुपैयाँ बराबरको १३ करोड ११ लाख १७ हजार २७२ कित्ता सेयर स्वीकृतिको प्रतीक्षामा छ ।

सूर्य सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, स्मार्ट डोर्स लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेडलगायत कम्पनीको आइपिओ आइँदैछ । त्यस्तै, लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड सोपान फर्मास्युटिकल्स लिमिटेड, भूगर्भ सिमेन्ट लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड र अम्बे स्टील्स लिमिटेड लगायतले आइपिओ ल्याउने तयारी गरिहेका छन् ।

धितोपत्र बोर्डका अनुसार होटल तथा पर्यटन समूहका चार वटा कम्पनीको १ अर्ब ६४ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ६० हजार कित्ता आईपीओ निष्कासन अनुमतिको पर्खाइमा छ । होटल तथा पर्यटनबाट भने पाँचवटा कम्पनीको आईपीओ पाइपलाइनमा रहेको बोर्डले जनाएको छ।

यसअनुसार होटल फरेस्ट इनको ४० करोड बराबरको ४० लाख कित्ता, अकामा होटलको साढे २२ करोडको २२ लाख ५० हजार कित्ता, वर्णवास म्युजियम होटलको ३९ करोड ६० लाख बराबरको ३९ लाख ६० हजार कित्ता र माउन्टेन ग्लोरी लिमिटेडको ४० करोड बराबरको ४० लाख कित्ता आईपीओ पाइपलाइनमा रहेको छ।

यस्तै, एपेक्स हस्पिटालिटीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार रुपैयाँ निष्काशन गर्ने अनुमती मागेको छ । यो समूहको कुल १ अर्ब ६४ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ६० हजार कित्ता आईपीओ स्वीकृतिको पर्खाइमा देखिएको हो ।

लगानी समूहको चार वटा कम्पनीको ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५०० रुपैयाँको १ करोड ८६ लाख ५० हजार ३७५ कित्ता सेयर आईपीओ धितोपत्र बोर्डबाट निष्कासन अनुमति हुन बाँकी छ ।
बरुण इन्भेस्टमेन्ट, सिड इनर्जी, शिवम् होल्डिङ लिमिटेड, शिव शिखर हाइड्रो लिमिटेड लगायतले आइपिओ निष्काशन गर्ने तयारी गरेका हुन् ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स गरी तीन लघु बिमा कम्पनीको ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता आईपीओ स्वीकृतिको पाइपलाइनमा छ ।

अन्य समूहका ११ वटा कम्पनी आईपीओ निष्कासन अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । यी कम्पनीले ४ अर्ब ५ करोड १२ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३ करोड ३७ लाख ९० हजार ५४ कित्ता सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् ।

बोर्डका अनुसार डिश मिडिया नेटवर्क, आईएमई लिमिटेड, हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स हस्पिटल), नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड, कैलाश हेलिकप्टर सर्भिसेज, छायादेवी कम्प्लेक्स, बिजनेस इन्टरेस्ट ग्रुप अफ इन्डस्ट्रिज, मेडिकेयर अस्पताल, जीआई सोलार, सोलार फार्म लिमिटेड र प्रभु हेलिकप्टरको आईपीओ पाइपलाइनमा रहेको छ ।

 

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार  १३ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।