काठमाडौँ । पछिल्लो समय छुर्पीको निर्यात बढ्दै गएको पाइएको छ । नेपालमा उत्पादित छुर्पी अमेरिका, क्यानडा, बेलायत, सिंगापुर, मलेसिया लगायतका २७ देशमा निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ ।
विभागको तथ्यांक अनुसार विगत पाँच वर्षमा चार अर्ब बराबरको छुर्पी विदेश निर्यात भएको हो । नेपालले कुकुर र विरालोको खानाको रुपमा विदेशमा छुर्पी निर्यात गर्दै आएको छ । चालु आर्थिक वर्षको चार महिना (साउन–कात्र्तिक) मा नेपालले १ अर्ब बढीको छुर्पी निर्यात गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १ अर्ब ३ करोड ५७ लाख २२ हजार रुपैयाँ बराबरको ८ लाख ६७ हजार ६८१ किलो छुर्पी नेपालले अन्य देशहरूमा निर्यात गरेको हो ।
गत आव २०८१/८२ को सोही अवधीमा १ अर्ब १५ करोड १० लाख रुपैयाँ बराबरको ६ लाख २१ हजार किलोग्राम छुर्पी निर्यात भएको थियो ।
त्यसैगरी, आव २०८०/८१ मा ९७ करोड ८९ लाख ४९ हजार रुपैयाँ बराबरको ४ लाख ९४ हजार किलोग्राम, आव २०७९/८० मा ८६ करोड ८६ लाख १४ हजार रुपैयाँको ४ लाख ७९ हजार केजी र आव २०७८/७९ मा ८२ करोड २३ लाख १ हजार रुपैयाँको ५ लाख १० हजार केजी छुर्पी निर्यात भएको हो ।
कुकुरको खानाको लागि प्रयोग हुने छुर्पीको निर्यात बढेको विभागको तथ्यांक छ । नेपालले चार महिनामा विभिन्न २७ देशहरूमा छुर्पी निर्यात गरेको तथ्यांकले जनाएको छ । नेपालबाट अमेरिका, क्यानडा, बेलायत, जापान, दक्षिण कोरिया, यूएई, हङकङ, मलेसिया, न्यूजिल्याण्ड, नेदरल्याण्ड, ग्रीस, ब्राजिल, ताइवान, थाइल्याण्ड लगायत २७ देशहरूमा कुकुरको खानाको लागि छुर्पी निर्यात भएको छ । यी विभिन्न २७ देशमा छुर्पी निर्यात भई रहँदा विशेषगरी अमेरिकाबाट बढी माग हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
कुल निर्यातको ८३ प्रतिशत हिस्सा अमेरिकाको
चालु आवको चार महिनामा नेपालबाट कुल निर्यातको ८३.८२ हिस्सा अमेरिकाको रहेको छ । चार महिनामा अमेरिका मात्र ८६ करोड ८२ लाख ४१ हजार रुपैयाँ बराबरको ४ लाख ९४ हजार किलोग्राम छुर्पी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष छुर्पी निर्यात कम भएको छ ।
गत वर्षको सोही अवधीमा नेपालबाट १ अर्ब २ करोड २३ लाख ७१ हजार रुपैयाँ बराबरको ५ लाख ५२ हजार किलोग्राम छुर्पी निर्यात भएको थियो ।
यस्तै, अमेरिका पछि क्यानडा नेपाली छुर्पीको दोस्रो ठूलो बजार बनेको छ । नेपालबाट चार महिनाको अवधीमा क्यानडामा ७ करोड ८९ लाख १ हजार रुपैयाँको २ लाख ३ हजार १५७ किलो छुर्पी निर्यात भएको छ ।
यस्तै, तेस्रो स्थानमा रहेको यूकेमा नेपालले ३ करोड ९८ लाख ९ हजार रुपैयाँ बराबरको ३७ हजार १५१ किलो छुर्पी निर्यात भएको छ । जापानमा २ करोड २९ लाख रुपैयाँ, साउथ कोरियामा ५६ लाख १० हजार रुपैयाँ, यूएईमा ३६ लाख ५३ हजार, हङकङमा ३४ लाख ९० लाख, मलेसियामा २८ लाख १० हजार, न्यूजल्यान्डमा २३ लाख १० हजार रुपैयाँको छुर्पी निर्यात भएको छ ।
त्यस्तै, नेदरल्यान्डमा २० लाख, ग्रीसमा १२ लाख र ब्राजिलमा ७ लाख रुपैयाँ बराबरको छुर्पी बाहिरीएको छ ।
सो अवधीमा नेपालबाट सबैभन्दा कम छुर्पी म्यानमारमा निर्यात भएको छ । चार महिनामा म्यानमारमा ६ हजार रुपैयाँ बराबरको ९ किलो छुर्पी निर्यात भएको छ । जुन नेपालबाट निर्यात भएको परिणममा सबैभन्दा कम हो ।
पाँच वर्षमा छुर्पी निर्यातबाट ४ अर्ब भित्रियो
नेपालमा पछिल्लो पाँच वर्षमा ४ अर्ब बढी आम्दानी भएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ४ अर्ब ८५ करोड ६५ लाख ९२ हजार रुपैयाँ भित्रिएको हो । उक्त मूल्यमा २९ करोड ७३ लाख किलोग्राम छुर्पी निर्यात भएको हो ।
पाँच वर्षको अवधीमा विभिन्न मुलुकबाट २५ करोड २ लाख रुपैयाँको छुर्पी नेपाल आयात भएको छ । उक्त रकममा ११ लाख २३ हजार किलोग्राम छुर्पी आयात भएको हो । उक्त छुर्पी आयातबाट ९ करोड ५५ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आवको चार महिनामा ६ करोड ७९ लाख रुपैयाँ बराबरको २ लाख १४ हजार किलोग्राम छुर्पी आयात भएको छ ।
त्यस्तै, गत आव २०८१/८२ को सोही अवधीमा ६ करोड ४ लाख, आव ०८०/८१ मा ४ करोड ३३ लाख, ०७९/८० मा ३ करोड ६१ लख र आव ७८/७९ मा ४ करोड २३ लाख रुपैयाँको छुर्पी आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया