शेयर बजारमा आएको सुधारले सञ्चालित सबै सामुहिक लगानी कोष (म्युचुअल फण्ड) को प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) मा चामत्कारीक सुधार आएको छ । केही समयअघि अंकित मूल्य (प्रतिइकाई १० रुपैयाँ) भन्दा तल ७-८ रुपैयाँसम्म झरेको सामुहिक लगानी कोषको प्रतिइकाई खुद सम्पत्ति मूल्य बढेर अधिकतम करिब १५ रुपैयाँसम्म पुगेको तथ्याङ्क छ ।
सामुहिक लगानी कोषहरुले मासिक रुपमा प्रकाशन गर्ने मंसिर महिनामा वित्तीय विवरण अनुसार सबै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य दश रुपैयाँभन्दा माथि देखिएको हो ।
मंसिरको वित्तीय विवरणका अनुसार सञ्चालित २१ म्युचुअल फण्डमध्ये प्रतिइकाई खुद सम्पत्ति मूल्यका आधारमा सानिमा इक्वीटी फण्डको सबैभन्दा धेरै १४.८७ रुपैयाँ देखिएको छ भने लक्ष्मी भ्यालु फण्डको सबैभन्दा कम १०.१५ रुपैयाँ रहेको छ ।
समग्रमा दुई म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १४ रुपैयाँभन्दा माथि छ भने दश वटाको १३ रुपैयाँ माथि, चारवटाको १२ रुपैयाँमाथि, दुईको ११ माथि र तीनको दश रुपैयाँभन्दा माथि छ । पहिलो खुलामुखी सामुहिक लगानी कोष एनआईबिएल सहभागिता फण्ड बाहेक २० वटाको इकाई नेप्सेमा कारोबार हुँदै आएको छ ।
पछिल्लो समय शेयर बजारमा आएको सुधारले म्युचुअल फण्डको लगानी रहेको सूचीकृत कम्पनीहरुको शेयरको मूल्य वृद्धिसँगै लगानीमा वृद्धि भई खुद सम्पत्ति वृद्धिले फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा समेत उल्लेखनीय सुधार देखिएको हो ।
नेप्से सूचक बढेर २३३२ को ऐतिहासिक उचाईमा पुग्दा फण्डहरुको शेयर बजारमा गरिएको लगानी रकममा समेत उल्लेखनीय सुधार आएको छ जसले घाटामा सञ्चालनमा रहेका फण्डहरुले मासिक रुपमा नै करोडौं आम्दानी गरिरहेको अवस्था छ ।
- दुई फण्डको मूल्य अंकित मूल्यभन्दा तल, दुईको १२ रुपैयाँभन्दा धेरै
माघ ६ गते मंगलबार नेप्सेमा कारोबार भएको मूल्यलाई आधार मान्दा ग्लोबल आईएमई समुन्नत योजना १ को इकाईमूल्य सबैभन्दा धैरे रहेको छ । यस फण्डको १२.९२ रुपैयाँका दरमा मंगलबार अन्तिम पटक इकाईको कारोबार भएको छ ।
यस्तै सानिमा इक्वीटी फण्डको प्रतिइकाई १२.७० रुपैयाँमा अन्तिम कारोबार भएकोमा अन्य पाँच फण्डको ११ रुपैयाँमाथि र एघार फण्डको प्रतिइकाई कारोबार १० रुपैयाँमाथि कारोबार भएको छ । दुई फण्डको भने मूल्य भने अझै अंकित मूल्यभन्दा तल कारोबार भएको छ ।
शेयर बजारमा आएको सुधारमा उल्लेख्य नाफा आर्जन गरेका फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य माथि बढिरहेको बेला सार्वजनिक निष्काशनको समयमा भन्दा सस्तो दरमा दोस्रो बजारबाट म्युचुअल फण्डको इकाई खरी दगर्न पाउनु लगानीकर्ताको लागि पनि राम्रो पक्ष हो ।
धितोपत्रको दोस्रो बजारमा बढी जोखिम हुने भएकाले त्यस्तो जोखिम लिन नसक्ने साधारण लगानीकर्तालाई पनि म्युचुअल फण्डको लगानी इकाईमा गरिने लगानी बढी सुरक्षित मानिन्छन् । म्युचुअल फण्डहरुमा शेयर बजारको बारे राम्रो ज्ञान भएका दक्ष जनशक्ति र रणनीतिक योजनका साथ लगानी हुने हुँदा म्युचुअल फण्डहरुले गर्ने लगानी साधारण लगानीकर्ताले जस्तो डुब्ने सम्भावना ज्यादै न्यून हुन्छ ।
बजार वृद्धिसँगै प्राप्त हुने पूँजीगत लाभ यस्ता फण्डहरुले समयमा नै सुरक्षित गर्ने र त्यसबाट थप लगानी गरेर प्राप्त हुने प्रतिफल इकाइधनीलाई नै वितरण गर्ने भएकाले धितोपत्रको दोस्रो बजारमा लगानी जोखिम लिन नचाहने लगानीकर्ताहरुलाई पनि म्युचुअल फण्डको इकाईमा गरिने लगानी सुरक्षित मानिन्छ ।
- बाह्र फण्डको इकाईमूल्यभन्दा न्याभ २ रुपैयाँले धेरै
मंसिरमा प्रकाशित प्रतिइकाई खुद सम्पत्ति मूल्य र माघ ६ गते ममंगलबार धितोपत्रको दोस्रो बजारमा कारोबार भएको अन्तिम मूल्यलाई आधार मान्दा २१ मध्ये १२ वटा म्युचुअल फण्डको इकाईमूल्यभन्दा माथि देखिएको छ । ती फण्डहरुको बजार मूल्यभन्दा प्रतिइकाई खुद सम्पत्ति मूल्य २ रुपैयाँभन्दा धेरै माथि रहेको देखिएको हो । पाँच फण्डको बजार मूल्यभन्दा प्रतिइकाई खुद सम्पत्ति मूल्यभन्दा एक रुपैयाँ माथि रहँदा तीन फण्डको बजारमूल्यभन्दा प्रतिइकाई खुद सम्पत्ति मूल्य एक रुपैयाँभन्दा थोरै मात्र धेरै रहेको छ ।
पुस महिनामा शेयर बजारमा उल्लेख्य सुधार आएकाले म्युचुअल फण्डहरुको लगानी र प्रतिफल बढ्दा पुस मसान्तसम्ममा सबैजसो फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्यभन्दा १२ रुपैयाँभन्दा धेरै आउने आंकलन गरिएको छ । मंसिर महिनाको विवरण अनुसार नै २१ मध्ये १६ फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँभन्दा बढी रहेको छ । बजारमा आएको सुधारले फण्डको आम्दानी बढेसँगै खुद सम्पत्ति वृद्धिमा आउने बढोत्तरीले पुसमा सबै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा थप सुधार आउने निश्चित छ ।
म्युचुअल फण्डहरुले सामान्यतया हरेक महिना समाप्त भएको पहिलो सातापछि अघिल्लो महिनाको वित्तीय विवरण प्रकाशन गर्दै आएका छन् । यसअनुसार आगामी सातादेखि धमाधम म्युचुअल फण्डहरुको वित्तीय विवरण प्रकाशमा आउने हुँदा फण्डको यथार्थ प्रगतिको चित्रण भने वित्तीय विवरण प्रकाशनसँगै देख्न सकिनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया