कालो सुनको व्यापार

अलैँची खेतीबाट मनग्य आम्दानी गर्दै किसान, १०९ प्रतिशतले बढ्यो निर्यात


काठमाडौँ । पछिल्लो समय अलैँचीको व्यवसायिक खेती फस्टाउँदै गएको देखिन्छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा मात्रै यसको उत्पादन १०९ प्रतिशतले बढेको सरकारी तथ्यांक छ ।

नेपालबाट सर्वाधिक निर्यात हुने वस्तुमध्येको अलैँची पनि एक हो । जसलाई कालो सुनको उपनामले चिनिन्छ । वैदेशिक व्यापार घाटा कम गर्न योगदान पुर्‍याउने अलैँची नेपालका ४० भन्दा बढी जिल्लामा व्यवसायिक रूपमा उत्पादन हुँदै आएको छ ।

विभिन्न जिल्लाका अलैंची किसानहरूले नोटबजारसँगको कुराकानीमा अलैंची उत्पादन र त्यसको आम्दानी राम्रो हुँदै गएको बताएका छन् । जसले किसानहरूमा अलैंचीको व्यवसायिक खेती अझै फस्टाउँदै जाने देखाएको छ ।

खोटाङका किसानहरू अलैची खेतीमा आकर्षित भएका छन् । राम्रो आम्दानी दिन थालेपछि खोटाङका दर्जनौँ स्थानका किसानहरू अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । ओसिलो जमिनमा हुने अलैँचीबाट किसानले बार्षिक रुपमा लाखौँ आम्दानी लिँदै आएका छन् ।

रोपेको दुई देखि तीन वर्षमा अलैँचीले आम्दानी दिने भएपछि किसानहरुले अलैँची खेती गर्न थालेका हुन् ।

कृषि पेशाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र बनेका छन् खोटाङ कपिलासगढी गाउँपालिका वडा नं. ४ का शेर बहाुर घले । उनले यो वर्ष करिब १०० मन अलैँची उत्पादन भएको बताए ।

उनले पछिल्लो एक वर्ष अलैँची बेचेरै करिब १ करोड आम्दानी गरेको बताए । यो वर्ष अलैँची प्रतिमन ९७ हजारदेखि १ लाख ५ हजार रुपैयाँसम्म बिक्री गरेको घलेले बताए ।

विगत १८ वर्षदेखि अलैँची खेती गर्दै आएका उनले बिचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछाडेको बताए । बिचमा दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसानसमक्ष बिरुवा पुर्याएको घलेले बताए ।

‘धेरै मेहनत नलाग्ने अलैँची खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यसपछि अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन बढी खर्च हुने गरेको किसान घलेको भनाइ छ । बीचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ । सो कार्यमा खास खर्च लाग्दैन,’ उनले भने।

हाल घलेले ३५/४० रोपनीमा अलैँची खेती गरेका छन् । हिउँदको समयमा तुसारो पर्ने भएकाले यसबाट जोगाउन अलि गाह्रो हुने उनले बताए । अलैँची लगाएको दुई/तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । वर्षेनी जग्गा र बिरुवा थप गर्दै जाँदा हाल करिब ४० रोपनी जग्गामा अलैँची खेती गरेको उनले बताए ।

अलैची खेतीलाई धेरै समय पनि खर्चनु नपर्ने भएकाले किसानहरु अलैँची खेती गर्न हौसिएका छन् । अलैँची खेतीसँगै अन्य खेतीपातीका काम गर्न सकिने किसानहरुको भनाई छ ।

त्यस्तै, केपिलासगढी गाउँपालिका वडा नम्बर १ का धनमाया तामाङ व्यवसायीक रुपमा अलैँची खेती गर्छिन् । अलैँची खेतीबाट बर्षेनी मनग्य आम्दानी लिदै आएका उनी अलैँची खेतीबाट राम्रो आम्दानी हुने बताउँछिन् ।

विगत १० बर्षदेखि अलैँची खेती गर्दै आएकी उनी गत वर्षको तुलनामा यो वर्ष उत्पादन बढेको बताउँछिन् । गत वर्षतिर पछि बिक्री गर्दा कम मूल्य पाउने गरेको हुँदा यो वर्ष सुरुवातीमा नै बिक्री गर्दा भने कम मूल्यमा बिक्री गर्नु परेको उनको भनाई छ ।

‘पछिल्लो समय अलैँचीको भाउ १ लाख माथि पुग्यो, तर उत्पादन धेरै हुँदा बिक्री गर्न सकिदैन भन्ने डरले छिटै ९० हजार प्रतिमन बिक्री गरेको हुँदा उत्पादन र हालको भाउमा बिक्री गर्न भने सकिएन ।’ तामाङले सुनाइन् । ‘बिक्री भएन भन्नु भन्दा छिटै बिक्री गर्नु ठीक भनेर छिटो बिक्री गरेको हो ।’

यो वर्ष उनले १८ देखि २० मन अलैँची बिक्री गरेको बताइन्, सो अलैँची बिक्रीबाट करिब १८ लाख आम्दानी भएको तामाङले सुनाइन् ।
त्यस्तै, खोटाङ केपिलासगढी गापा वडा नं. ३ का धु्रवराज राईले यो वर्ष अलैँची दाना बिक्री गरेर करिब ४० लाख रुपैयाँ आम्दानी गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेसँगै भाउ पनि बढ्दा राई हर्षित भएका छन् । राईले २०५४ सालदेखि अलैँची खेती गर्न सुरु गरेको बताए ।

‘दुई वर्ष अगाडीदेखि अलैँचीको भाउ राम्रो आउन थालेपछि उनले अलैँलीको बिरुवा समेत थपेको थिएँ । यस वर्षबाट उक्त बिरुवाबाट पनि उत्पादन सुरु भयो, यसो हुँदा यस वर्ष उत्पादनसँगै मूल्य पनि बढ्यो,’ उनले भने ।

हाल उनले करिब २० रोपनी जग्गामा अलैँची खेती गरेका छन् । ५४/५५ सालमा प्रतिमन २/३ हजार रुपैयाँमा अलैँची बिक्री गरेका उनले अहिले प्रतिमन ९८ हजार रुपैयाँमा करिब ४० मन अलैँची बिक्री गरेको बताए ।

‘गत वर्ष २०/२५ मन मात्र अलैँची बिक्री गरेका थियौँ । विगतका वर्षहरुमा आफ्‌नो दुख अनुसारको आम्दानी हुँदैन थियो, यस वर्ष उत्पादन र मूल्य बढ्दा खुशी छौँ ।’ सधैँ एकनाशको उत्पादन त हुँदैन, यस भने राम्रो उत्पादन भएको हो, राईले सुनाए ।

करिब १० वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको तेह्रथुममा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको छ ।

अलैँचीबाट उकासिएकामध्ये एक हो, तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नं. ५ का भरत उप्रेती । उनको दिनचर्या अलैँची बारीमै बित्छ । कालो सुनका रूपमा हेरिने अलैँची खेती थालेपछि भने उनी आर्थिक रूपले सम्पन्न छन् ।

एक रोपनी जग्गाबाट सुरु भएको अलैँची खेती यतिबेला ४५/५० रोपनी क्षेत्रफलमा फैलिएको छ । उनले भने, ‘विदेशमा गएर कमाउनु भन्दा परिवारको साथमा घरमा बसीबसी वार्षिक ४० लाख बढीसम्म आम्दानी हुन्छ ।’ उनले रोजगारीका लागि गाउँ छाड्ने र विदेशमा रहेका युवालाई गाउँ फर्किएर अलैँची खेती गर्दै जीवन परिवर्तन गर्न आग्रह गर्दै आएका छन् ।

अलैँची खेतीमा आकर्षित भएका कास्कीका किसान सुरेन्द्र क्षेत्रीले यो वर्ष करिब ४५ मन अलैँची उत्पादन गरेका छन् । यो वर्ष अलैँचीको मूल्य बढेसँगै अझै बढ्ने आशामा रहेको उनले बताए ।

‘यो वर्ष उत्पादन भएको करिब आधा बिक्री भई सक्यो । बिक्री गरेको औषतमा प्रतिमन ९८ हजारमा बिक्री गरेको हो । मूल्य बढीरहँदा अझैँ बढ्ने आशले आधा बिक्री गर्न बाँकी नै छ । अब मूल्यमा वृद्धि हुँदैन होला माग आइरहेको छ, अब बिक्री गर्छु,’ क्षेत्रीले भने ।
‘गत वर्षको तुलनामा यो वर्ष केही मात्रामा उत्पादन बढेको छ,’ उनले बताए ।

इलामका किसान महेश सापकोटाले अलैंची सुकाएर राखेको बताए । १२ रोपनी जमिनमा लगाइएको अलैँची करिब १५/२० मन फलेको उनले बताए ।

सापकोटाले भने, ‘माथिल्लो भागमा लगाइएको अलैंची दसैँपछि टिप्न सुरु गरेको थियो । सो समयमा नै अलैचीको मूल्य बढेपछि अझै मूल्य बढ्ने आशमा बिक्री भने गरेको छैन ।’

‘अलैँची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ विगतमा धेरै राम्रो कम हुँदै गएको छ । अन्य परम्परागत खेतीसँगसँगै अलैँची खेतीलाई पनि विस्तार गर्न सकिन्छ । जस कारण किसानहरु अलैँची खेतीतर्फ आकर्षित भएका हुन्,’ सापकोटाले सुनाए ।

अलैँची खेती गर्न विशेष गरि चिस्यान र ओसिलो र छहारीको व्यवस्थापन गर्न सकिने जग्गा उपयुक्त हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । अलैँची औषधीय गुण भएको नगदेबाली हो । यसबाट विशेषगरेर औषधिजन्य वस्तु निर्माण हुने गरेका छन् । गर्मीमा अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गर्ने गरिन्छ । मसलाका रूपमा पनि अलैँचीलाई प्रयोग गर्ने गरिन्छ । नेपालबाट बिदेश निर्यात हुने अलैँचीबाट अत्तर (पर्फ्युम) समेत निर्माण हुने गरेको जानकारहरु बताउँछन् ।

१०९ प्रतिशतले बढ्यो अलैँची निर्यात

चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा (साउन–कात्र्तिक)मा अलैँची निर्यात बढेको छ । भन्सार विभाग तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ को चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा १०९.०५ प्रतिशतले बढेको हो ।

चालु आवको चार महिनामा ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँको १८ लाख २३ हजार ९०० किलोग्राम अलैँची निर्यात भएको छ भने गत वर्षको सोही अवधीमा १ अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको १२ लाख ६ हजार २५० किलोग्राम मात्र अलैँची निर्यात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो ।

आव २०८०/८१ मा २ अर्ब १५ करोड ६० लाख रुपैयाँ बराबरको १७ लाख ३७ हजार किलोग्राम, आव २०७९/८० मा १ अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबरको २४ लाख ४१ हजार किलोग्राम र आव २०७८/७९ मा १ अर्ब ६० करोड ६० लाख रुपैयाँ बराबरको १८ लाख ९६ हजार किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात हुने अलैँचीको सबै हिस्सा भारत रहेको छ ।

पछिल्ला समयमा अलैँचीको मूल्यमा आएको वृद्धिले किसानहरूमा उत्साह ल्याएको छ । स्थायी लाभका लागि गुणस्तरीय उत्पादन र अन्तर्राष्ट्रिय बजारमा ‘नेपाली ब्रान्ड’ विकास गर्न अब सरकारले ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरू बताउँछन् । यद्यपी व्यवसायीहरूले भने अलैंचीको उत्पादन घटेको बताएका छन् । विगतकै मौज्दात अलैँची पनि निर्यात गरिएका कारण निर्यात बढेको व्यवसायीहरूको भनाइ छ ।

नेपालको निर्यात बजार भारतको परनिर्भरतामा रहेको छ । त्यस्तै अलैँचीको बजार पनि भारतसँगको निर्भर नै रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालबाट अर्बौको अलैँची निर्यात हुँदा भारतमा मात्र निर्यात भएको छ ।

विश्व बजारमा नेपालमा उत्पादित अलैंची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजीकरण गर्न आवश्यक रहेको नेपाल अलैँची व्यवसायी महासंघका पूर्व अध्यक्ष निर्मल भट्टराईले बताए ।

‘भारतबाट माग बढी हुने निर्यात गर्न सहज हुने हुँदा निर्यात बढी भएको हो । अन्य मुलुकहरुमा पनि सहज तरिकाले निर्यातको वातावरण सिर्जना भयो भने निर्यात गर्न सकिने छ,’ भट्टराईले भने ।

अलैंचीको रोगहरुलाई हटाउने र प्लानटेशनहरु गरी विरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत हुने उनको भनाइ छ ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।