काठमाडौं । रिलाइन्स स्पिनिङ मिल्सले बैदेशिक रोजगारीमा गएका कामदारका लागि निष्काशन गरेको साधारण सेयर ओभरसब्स्क्राइभ भएको छ । धितोपत्र बोर्डबाट निष्काशनका लागि बाटो खुल्ला भएसँगै मंसिर २२ गतेदेखि सेयर निष्काशन भएकोमा निष्काशन सुरु भएको केही बेरमा सबै सेयरका लागि आवेदन परेको हो ।
कम्पनीले मंसिर २२ गते सोमबारदेखि वैदेशिक रोजगारीमा गएकाहरुको लागि १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन सुरु गरेको छ । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशतले हुने सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई निष्काशन गरेको हो ।
आईपीओ निष्कासन भएको एक घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेको थियो । विभिन्न ३६ बैंकबाट १ हजार ९७० लगानीकर्ताले १ घण्टामा आवेदन दिएका छन् । वैदेशिक रोजगारीमा गएकाहरुले कम्पनीको सेयरमा मंसिर २५ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । बुकविल्डिङ प्रणालीबाट निष्काशन भएको कम्पनीको प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा कम्तीमा ४१ हजार ४० रुपैयाँको आवेदन दिनुपर्छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।












प्रतिक्रिया