केन्द्रीय बैंकले ब्याजदर घटाउँदा सुनको मूल्य आकाशियो, एक वर्षभित्र प्रतितोला ३ लाख रुपैयाँ पुग्ने अनुमान


काठमाडौँ । सुनको भाउले यतिबेला विश्व बजार तातेको छ । अन्तर्राष्ट्रिय बजारमा करिब दुई महिना अगाडी ओरालो लागेको सुन पुन नयाँ कीर्तिमान बनाइरहेको छ । साेमबार तोलाको २ लाख ६० हजार ७०० रुपैयाँमा सुनको कारोबार भइरहेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले बताएका छन् ।

‘असोज अन्तिमबाट निरन्तर ओरालो लाग्दै आएको सुन १२-१५ दिन पछि पुनः निरन्तर उकालो लागेको हो । २ लाख ५८ हजारमा कारोबार भएको सुन २ लाख ३६ हजार ३ सय रुपैयाँमासम्म ओरालो लागेको थियो । पछिल्लो समय फेरि निरन्तर उकालो लाग्दै २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ ।’ उनले भने ।

अन्तर्राष्ट्रिय भू–राजनीतिका कारण विश्व बजारमा पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पुगेको वरिष्ठ उपाध्यक्ष शाक्यको भनाई छ ।

अर्कोतर्फ अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउँदै ल्याएको छ । पछिल्लो पटक पनि ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाउने व्यापक अपेक्षा गरिएको छ । त्यसकारण पनि पछिल्लो समय सुनको मूल्य बढ्दै गएको छ । उनले भने, यसकारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन् ।

यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । सुनको मूल्य अबको करिब एक वर्षको अन्तरालमा ५ हजार अमेरिकी डलर पुग्ने अनुमान रहेको छ । यसरी अन्तराष्ट्रिय बजारमा प्रतिऔँस ५ हजार डलर पुग्दा नेपाली बजारमा सुनको मूल्य ३ लाख माथि पुग्ने उनी बताउँछन् ।

उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्यमा पनि प्रभावित हुन्छ ।’ उनका अनुसार, अन्तर्राष्ट्रिय बजारको आधारमा नेपालमा पनि सुनको मूल्य निर्धारण गर्ने गरिन्छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य बढेको हो ।

अमेरिकी केन्द्रीय बैंकको ब्याजदर घटबढ हुने कारणले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उत्तरचढाब बढिरहेको छ । जस कारण नेपालमा पनि सुनको मूल्यले उच्च मूल्यको नयाँ कीर्तिमान बनाइरहेको शाक्यको भनाइ छ ।

‘विश्वभर आर्थिक गतिविधिमा सुस्तता देखिएकाले औद्योगिक तथा अन्य उत्पादन क्षेत्रतर्फ लगानी जान सकेन, सो लगानी पनि सुनमै हुन थालेपछि मागसँगै मूल्य बढेको हो,’ उनले भने । अन्तर्राष्ट्रिय बजारको पछिल्लो अवस्थालाई हेर्दा सुनको मूल्य अझै उकालो लाग्ने अनुमान रहेको शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा पर्ने गर्छ ।

विश्वमा आर्थिक द्वन्द्व बढ्नुका साथै भू–राजनीतिक द्वन्द्व बढ्दै गएकाले धेरै मुलुकलाई समस्या पारेको छ । यी सबैका कारण विश्वभर नै लगानीका क्षेत्र खुम्चिएका छन् । यस्तोमा धेरै व्यक्ति र मुलुकका लागि सुन लगानी योग्य वस्तु बनेको शाक्यले बताए ।

निरन्तर सुनको मूल्य बढ्दै जाँदा नेपाली बजारमा सुनको कारोबार सन्तोषजनक नरहेको व्यवसायी राजकुमार बराइली बताउँछन् । मुख्य सिजनमा नै सुनको मूल्य आकासिदा आफ्नो व्यवसाय नै धरापमा परेको उनको भनाई छ ।

उनी भन्छन्, ‘उपभोक्तासँग पैसा नहुनु तथा मूल्य बढ्नुले धेरै किन्नेहरूले पनि थोरै किन्ने गरेका छन् । पछिल्लो समय सुनको मूल्य आकासिएपछि नयाँ सुन किन्ने भन्दा पुरानो सुनबाट नयाँ गहना बनाउनेहरु बढी छन् । नेपालीहरुको आम्दानीले सुन किन्ने प्रवृत्ति कम हुँदै गएको हो ।’

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार  १४ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।