काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।










प्रतिक्रिया