उच्च बिन्दुमा पुगेको बजारमा नाफा बुकिङ्गको होडले कारोबारमा रेकर्ड, नेप्से भने दोहोरो अंकले घट्यो

0
Shares

बजारले ऐतिहासिक उचाई हासिल गरेका बेला उच्च नाफा गर्नेहरु शेयर बिक्री गरेर नाफा बुकिङ्गमा लाग्दा कारोबार रकममा रेकर्ड कायम भएको छ । तर बिक्री चाप पर्दा बजार भने दोहोरो अंकले घटेको छ ।

साताको अन्तिम दिन आज (बिहीबार) शेयर बजार कारोबार मापक नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा झरेको छ । नेप्से ०.६८ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३२ अंकले घटेर ४४२.०६ मा पुगेको छ । 

कूल २०९ वटा कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि सर्वाधिक कारोबार रकम ९ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो।

बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा उपसमूहको सूचक बढेको छ भने बाँकी ९ वटा उपसमूहको घटेको छ । निर्जीवन बीमा समुहको सूचक ४१० अंकले बढ्दा उत्पादन समुह १६७ र लघुवित्त समुह ८७ अंकले बढेको छ। अन्य सबै उपसमुहको सूचक घटेको छ।

यसदिन पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ५७ करोड ८८ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सुर्योदय लघुवित्त, सगरमाथा इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स, प्रभु लाइफ, आरम्भ चौतारी लघुवित्त र सारथी नेपाल लघुवित्तको शेयर मूल्य उच्चदरले बढेको छ। हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, मिथिला लघुवित्त तथा गुराँश लघुवित्तको लगायतको शेयर मूल्य धेरै घटेको छ ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।