काठमाडौँ । यो साता सेयर बजारमा उतारचढाव देखिएको छ । साताको सुरुवाती कारोबार दिनहरुमा उच्च अंकको गिरावट बेहोरेको बजारमा अन्तिम दुई दिनमा भने झिनो अंकको सुधार आएपनि समग्र नेप्से परिसुचकमा २९.१६ अंकको गिरावट आएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार परिसुचकमा दोहोरो अंकको गिरावट आउँदा नेप्से १९.९२ अंकले घटेर २५९५.१० अंकमा पुगेको थियो । सोमबार नेप्से १३.८८ अंकको गिरावट सहित बजार २५८१.२१ अंकमा पुगेर बन्द भएको थियो । मंगलबार र बुधबार भने बजारमा केहि सुधार देखिएको थियो । मंगलबार नेप्से ३.२७ अंकले बढ्दा परिसुचक २५८४.४९ अंकमा पुगेको थियो । बुधबार पनि बजारमा सामान्य सुधार आउँदा नेप्से १.३७ अंकले बढेर २५८५.८७ अंकमा पुगेको थियो ।
साताभरि कारोबार रकममा पनि उतारचढाव देखिएको छ । पहिलो कारोबार दिन साढे चार अर्ब रुपैयाँ नाघेको कारोबार रकम त्यसपछिका दिनहरुमा भने ३ अर्बको सेरोफेरोमा कायम रहेको छ ।
आइतबार ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम १ अर्ब रुपैयाँले खुम्चिएको थियो । सोमबार ३ अर्ब ५१ करोड ५९ लाख रुपैयाँको कारोबार भएको बजारमा मंगलबार कारोबार रकम ३ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ पुगेको थियो । अन्तिम कारोबार दिन बुधबार कारोबार रकम झन खुम्चिदाँ ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँका सेयर किनबेच भएका छन् ।
बजार पूँजीकरणमा पनि उतार चढाव
साताभरिको कारोबारपछि कुल बजार पूँजीकरणमा पनि उतारचढाव आएको छ । साताको पहिलो कारोबार दिन आइतबार ४३ खर्ब ५७ अर्ब २३ करोड ६७ लाख रुपैयाँ कामय भएको बजार पूँजीकरण सोमबार घटेर ४३ खर्ब ३३ अर्ब ९२ करोड ४० लाख रुपैयाँमा खुम्चिएको थियो ।
यद्यपि साताको अन्तिम दुई दिन बजार बढ्दा पूँजीकरणमा पनि सामान्य सुधार आएको छ । मंगलबार ४३ खर्ब ३९ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ पुगेको पूँजीकरण बुधबारको कारोबारपछि ४३ खर्ब ४९ अर्ब ७३ करोड ९२ लाख रुपैयाँ कायम भएको थियो ।
साताभरिमा सबैभन्दा बढी मूल्य बढेका कम्पनी
साताभरिको कारोबारमा एसवाई प्यानलको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । आइतबार र सोमबार लगातार १० प्रतिशले बढेको यो कम्पनीको सेयर मूल्य मंगलबार ७.०१ प्रतिशतले बढेको थियो । साताको अन्तिम कारोबार दिन बुधबार यो कम्पनी सर्वाधिक कारोबार गर्ने कम्पनीको शीर्षस्थानमा रहेको थियो ।
साताभरिको कारोबारमा सेयर मूल्य सबैभन्दा बढी बढ्ने कम्पनीको दोस्रो स्थानमा सिटिजन्स बैंक डिबेन्चर रहेको छ । ऋणपत्र भएपनि यसको मूल्य साताको पहिलो कारोबार दिन आइतबार ९.८३ प्रतिशतले र सोमबार ६.०१ प्रतिशतले बढेको थियो ।
यस्तै मंगलबार गुराँस लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी बढेको थियो । सो दिन उक्त कम्पनीको सेयर मूल्य ६.०१ प्रतिशतले बढेको थियो । यस्तै मंगलबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य ५.९६ प्रतिशतले बढेको थियो ।
साताभरिमा सेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको पाचौँ स्थानमा इन्फिनिटी लघुवित्त रहेको छ । साताको कारोबार भएको अन्तिम दिन बुधबार यो कम्पनीको सेयर मूल्य ५.३२ प्रतिशतले बढेको थियो ।
यो साता कारोबार रकमको आधारमा एसवाई प्यानलले वर्चस्व कायम गरेको छ । यो कम्पनी मंगलबार ३० करोड ९८ लाख रुपैयाँ र बुधबार १४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै साताभरिको कारोबारमा शीषस्थानमा रहेको थियो । यसबाहेक आइतबार स्वस्तिक लघुवित्त १३ करोड ५ लाख रुपैयाँ र सोमबार लुम्बिनी विकास बैंक १० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार सहित साताभरिमा सर्वाधिक कारोबार गर्ने कम्पनीको सुचीमा परेका छन् ।
साताभरिमा सबैभन्दा बढी मूल्य घटेका पाँच कम्पनी
कारोबारको पहिलो दिन आइतबार सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।
यस्तै सेयर मूल्य सर्वाधिक घट््ने कम्पनीको दोस्रो स्थानमा सिटिजन्स जीवन बीमा कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य मंगलबार ५.९७ प्रतिशत र बुधबार ३.३८ प्रतिशतले घटेको थियो । कारोबारको पहिलो दिन आइतबार नारायणी विकास बैंकको सेयर मूल्य ७.५५ प्रतिशतले घटेको थियो ।
सोमबारको कारोबारमा मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ६.८४ प्रतिशतले ओरालो लागेको थियो । साताभरिको कारोबारमा सर्वाधिक सेयर मूल्य घट्ने कम्पनीको पाचौँ स्थानमा सीवाईसी नेपाल लघुवित्त रहेको छ । मंगलबार यो कम्पनीको सेयर मूल्य ५.८७ प्रतिशतले घटेको थियो ।












प्रतिक्रिया