काठमाडौँ । भन्सार विभागले देशभरका सबै भन्सार कार्यालयहरूमा डाटाबेस मूल्यांकन प्रणाली लागु गरेको छ । अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज, पारदर्शी बनाउन र लागत न्यूनीकरण गर्न भन्दै विभागले गत शुक्रबारदेखि देशभरका भन्सार कार्यालयमा अनलाइन भन्सार मूल्यांकन डाटाबेस प्रणाली कार्यान्वयन गरेको हो ।
यो प्रणाली लागू भएसँगै विगत २७ वर्षदेखि चल्दै आएको मूल्यांकनको सन्दर्भ पुस्तिका राख्ने परम्पराको अन्त्य भएको छ । भन्सार अधिकारीहरुले अब व्यापारिक कारोबारको वास्तविक मूल्यका आधारमा शुल्क लगाउने व्यवस्था मिलाइएको छ ।
यस प्रणालीमा कारोबार मूल्यलाई मान्यता दिने, वैज्ञानिक डाटाबेस कायम गर्ने, पारदर्शिता र सरलीकरण गर्ने जस्ता विशेषता हुन्छ । नेपालमा २०५५ सालदेखि भन्सारमा सन्दर्भ मूल्यांकन प्रणाली लागु भएको थियो । वि.सं.२०६४ को ऐनमा पनि यो नियम भएता पनि लागु भने हुन सकेको थिएन ।
अब भन्सारले सन्दर्भ मूल्यको सट्टा कारोबार मूल्यलाई मुख्य आधार मान्नेछ । व्यवसायीले जति मूल्यमा सामान किनेको हो, सोही मूल्यलाई नै भन्सार प्रयोजनका लागि स्वीकार गरिनेछ । यो व्यवस्थाले विशेषगरी व्यवसायीहरूलाई इमान्दार हुने वातावरण प्रदान गर्ने भन्सार कार्यालयका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाले बताएका छन् ।
‘अहिलेसम्म व्यवसायीहरूले सन्दर्भ मूल्य र वास्तविक कारोबार मूल्यबीचको फरकका कारण नक्कली बिल÷बिजक जारी गर्नुपर्ने बाध्यता रहेको थियो । नयाँ प्रणालीले यस्तो बाध्यताको अन्त्य गर्ने विश्वास लिइएका छौँ ।’ उनले भने ।
उनका अनुसार, उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्ने सोच सहित नयाँ चरणको भन्सार सुधार रणनीति तर्जुमा गर्ने काम पनि प्रारम्भ भएको जानकारी दिइएको छ । यसले मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
भन्सार प्रशासनमा भएको परिवर्तनले राजस्व संकलनमा पारदर्शिता र व्यापार सहजीकरणमा सकारात्मक असर पार्ने विश्वास गरिएको उनले बताए । अहिले लागु गरिएको अनलाइन भन्सार मूल्यांकन डाटाबेस प्रणाली विश्व व्यापार संगठनको जनरल एग्रिमेन्ट अब ट्यारिफ एन्ड ट्रेड (ग्याट) मूल्यांकन प्रणालीमा आधारित हुने अधिकारी बर्तौलाले जानकारी दिए ।
व्यवसायीले जति मूल्यमा सामान किनेको हो, सोही मूल्यलाई नै भन्सार प्रयोजनका लागि स्वीकार हुँदा व्यवसायीबाट हुनसक्ने भन्सार छली रोक्न विश्वभरको बजार मूल्य र अघिल्ला कारोबारहरूको तथ्यांक सुरक्षित रहने उनले बताए ।
यदि कुनै व्यवसायीले वस्तुको मूल्य अस्वाभाविक रूपमा कम देखाएमा प्रणालीमा रहेको डाटाबेससँग तुलना गरेर वास्तविक मूल्य पत्ता लगाउन सहज हुने उनको भनाई छ । यसमा सबै प्रक्रिया अनलाइन हुने भएकाले भन्सार जाँचपासमा हुने ढिलासुस्ती कम हुने भन्सार विभागले जनाएको छ ।
सन्दर्भ पुस्तिका राख्ने परम्परा हुँदा इमानदार व्यवसायीले वास्तविक बिल देखाउँदा पनि सन्दर्भ पुस्तिकाकै मूल्यमा कर तिर्नुपर्ने बाध्यता थियो । जसले व्यापारिक लागत बढाएको थियो, अब कारोबार मूल्यमा आधारित भन्सार मूल्याङ्कन लागु हुँदा व्यापारीहरुलाई सहज हुने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बताएका छन् ।
भन्सार मूल्यांकनको सन्दर्भ पुस्तिका राख्ने परम्पराको अन्त्य भएको समेत उनले बताए । विगतमा भन्सार अधिकारीहरूले हरेक ६ महिनामा अद्यावधिक हुने सन्दर्भ पुस्तिकाका आधारमा वस्तुको मूल्य तोक्ने गर्थे । उनले भने, ‘अब अनलाइन भ्यालुएसन सफ्टवेयर र डाटाबेस प्रणालीका आधारमा वास्तविक कारोबार मूल्यलाई नै मान्यता दिइनेछ ।’
अग्रवालका अनुसार, सन्दर्भ पुस्तिका प्रणालीमा धेरै समस्याहरू थिए । वास्तविक मूल्यभन्दा पुस्तिकाको मूल्य फरक हुँदा हुन्डीमार्फत पुँजी पलायन हुने वा न्यून मूल्यांकन गरी राजस्व छली हुने जोखिम थियो ।
डाटाबेस प्रणालीमा जाँचपास भएका सबै वस्तुको डिजिटल विवरण रहने भएकाले कुनै पनि वस्तुको मूल्य विश्लेषण र तुलना गर्न सहज हुने उनले बताए ।










प्रतिक्रिया