पाँच महिनामा सुनमा १ खर्ब ६१ अर्ब रुपैयाँको लगानी


काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो पाँच महिनामा सुनमा १ खर्ब ६१ अर्ब १६ करोड ८ लाख रुपैयाँ बराबरको लगानी गरेको छ ।

जुन अघिल्लो आवको तुलनामा ६७ अर्ब ३ करोड अर्थात् ७१.२ प्रतिशतले बढी हो । जबकी बैंकले गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा सुनमा ९४ अर्ब १३ करोड रुपैयाँ मात्र लगानी भएको थियो ।

अघिल्लो आव (२०८०/८१) को तुलनामा २६ अर्ब ३९ करोड रुपैयाँ अर्थात् ३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा सुनमा ६७ अर्ब ७३ करोड ५ लाख रुपैयाँ बराबरको लगानी थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उल्लेख्य वृद्धि भएकोले गर्दा राष्ट्र बैंकको तथ्यांकमा सुनमा भएको लगानी बढेको देखिए पनि परिमाण भने नबढेको राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेल बताउँछन् ।

‘बैंकमा करिब २ खर्बको सुन स्टकमा भएकाले सम्पत्ति बढी देखिएको हो तर परिणामको आधारमा उल्लेख्य मात्रामा लगानी भने भएको छैन । प्रवक्ता पौडेलले भने, पछिल्लो एक वर्षको अन्तरालमै सुनको मूल्यमा १ लाख रुपैयाँभन्दा बढी वृद्धि भएको छ । यसरी मूल्यमा वृद्धि हुँदा लगानी रकम बढी देखिएको हो ।’

सुनलाई सुरक्षित लगानीका रूपमा लिइने भएकाले विश्वभरका केन्द्रीय बैंकले सुन किनेर राख्ने गरेका छन् । विश्वका हरेक केन्द्रीय बैंकले सुरक्षाका लागि सुन भण्डारण गर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

अन्य क्षेत्रमा भन्दा सुनमा लगानी सुरक्षित हुने भएकोले नेपाल राष्ट्र बैंकले पनि यसमा लगानी गरेको शाक्यको भनाइ छ ।

पछिल्लो समय विश्व बजारमा आएको उतारचढाव, अमेरिकी राष्ट्रपतिको नयाँ कर नीति, युद्धलगायत विभिन्न घटनाक्रमले विश्व बजारमै सुनमा लगानी गर्ने क्रम बढेको छ । जस कारण सुनको मूल्यमा निरन्तर वृद्धि हुँदै गएको हो ’ उनले भने ।

विभिन्न अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय मुद्राको विनिमय दरमा उतारचढाव आउने गर्छ । यस्तो अवस्थामा सुनलाई नै सुरक्षित र भरपर्दो सम्पत्तिका रूपमा लिइन्छ । कुनै पनि देशका नोट, मुद्रा वा अन्य सम्पत्तिलाई अरू देशले मान्यता नदिने, तर सुनलाई सबैले साझा सम्पत्तिका रूपमा लिने भएकाले सुनको लगानी सबैभन्दा सुरक्षित मानिन्छ ।

नेपालमा व्यवसायीहरूले सुनमा लगानीको विषय व्यवस्थित गर्न माग गर्दै आएको लामो समय भइसकेको छ । ‘कानुनी प्रबन्ध गरेर सुनमा लगानी गर्ने प्रावधान आउने हो भने लगानीकर्ताले कमाइ गर्ने ठाउँ हुन्छ भने सरकारले पनि आम्दानी गर्न सक्छ, तर नेपालमा व्यवसायीहरुले लगानी गर्ने प्रावधान नहुँदा राष्ट्र बैंकले भने लगानी गर्न पाउँछ, त्यस कारण राष्ट्र बैंकले मात्र सुनमा लगानी गर्ने गर्छ’ उनी भन्छन् ।

सुनको मूल्यले दिनदिनै रेकर्ड बनाएपछि सर्वसाधारणले सुनमा लगानी गर्ने प्रावधान नभए पनि गहना बनाएर लगानी गर्न थालेका छन् । अन्य क्षेत्रमा लगानीको वातावरण सहज नहुँदा सर्वसाधारणहरूले सुनमा लगानी गर्न खोजेको व्यवसायीहरूको भनाइ छ ।

‘मूल्यले दिनदिनै रेकर्ड बनाएपछि सर्वसाधारणहरु राम्रो मूल्य आओस् भनेर बेरुवा औँठी, सिक्कामा लगानी गर्न थालेका व्यवसायीहरु बताउँछन् । ढिक्का सुन बिक्री गर्न नमिले पनि बेरुवा औँठीको बिक्री राम्रो भएको शाक्यले बताए ।

विकसित मुलुकमा सुनमा लगानी गर्ने धेरै तरिका छन् । गर–गहना, सिक्का वा गोल्डबारको खरिद गरेर भौतिक रूपमा सुनमा लगानी गर्ने तरिका विश्वब्यापी भएको शाक्यले जानकारी दिए । जुन नेपालमा पनि हुँदै आएको उनी बताउँछन् । तर यो लगानीको उत्कृष्ट तरिका नभएको शाक्यको बुझाई छ । विकसित मार्केटमा सुनमा आधारित विभिन्न वित्तीय साधनहरु बनाएर सुनको लगानी र व्यवस्थापन गरिने उनी बताउँछन् ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।